birat ribon

दुई महिनामा सङ्क्रमण दोहोरियो, तर अनुसन्धान भएन

Neuro
दुई महिनामा सङ्क्रमण दोहोरियो, तर अनुसन्धान भएन

विराटनगर/विराटनगरमा एक चिकित्सकलाई दुई महिनाको अन्तरमा पुनः कोरोना संक्रमण देखियो । सामान्यता एक पटक सङ्क्रमण भएको ६ महिनासम्म शरिरमा एन्टिबडी रहने अध्ययनले देखाएको छ । तर विराटनगरको एक अस्पतालमा कार्यरत ३२ वर्षीय डाक्टरलाई दुई महिनामा पुनः सङ्क्रमण देखिए पनि अध्ययन भएन ।

पहिलो पटक पिसिआर पोजेटिभ देखिँदा ठूलो समस्या नभोगेका डाक्टरले दोस्रो पटक पोजेटिभ रिपोर्ट आउँदा धेरै गाह्रो भएको अनुभव सुनाए । ३२ वर्षीय डाक्टर आफूले भोगेको समस्याका आधारमा कोरोनाको फरक प्रकारको भाइरसले सङ्क्रमण भएको हुनसक्ने बताउँछन् ।

cura insider

कोरोना भाइरसको पुनःसङ्क्रमणलाई रिइन्फेक्सन भनिन्छ । छोटो समयमा रिइन्फेक्सन भएको हो वा हैन भनेर बुझ्नका लागि अध्ययन हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

एक पटक सङ्क्रमित भएको तीन महिनासम्म पिसिआर रिपोर्ट पोजिटिभ आउने सम्भावना रहेकाले दुई महिनामा दोहोरिएको घटनामा अनुसन्धान हुनुपर्ने कोसी अस्पताल विराटनगर फिजिसियन डाक्टर डेनप्रसाद आचार्यले बताए ।

उनी भाइरसमको प्रकार पत्ता लगाउन भाइरस कल्चर गर्ने वा भाइरसको जिनको अध्ययन गर्नुपर्ने बताउँछन् । तर भाइरसको जिनको अध्ययन नेपालमा भएको छैन । उनी भन्छन्, ‘अध्ययन नहुँदा रिइन्फेक्सन भएको हो वा पुरानै सङ्क्रमण पूर्णरूपमा निको नभई दोहिरिएको हो भनेर ग्यारेन्टीका साथ भन्ने सकिँदैन ।’

सङ्क्रमित भएको तीन महिनासम्म पनि केही व्यक्तिको पिसिआर रिपोर्ट पोजिटिभ आइरहेको हुन्छ । ‘निको भइसकेपछि दोस्रो पटक पनि सङ्क्रमण हुन सक्छ,’ उनी भन्छन्, ‘तर, पहिलेको सङ्क्रमण बाँकी रहेर निमोनिया भएको कारण गाह्रो भएको हो वा दोस्रो पटक फरक स्ट्रेनको भाइरस सङ्क्रमण भएको हो भन्ने बुझ्नका लागि अनुसन्धान हुनुपर्छ ।’

कोसी अस्पतालका सिनियर फिजिसियन डाक्टर दीपक सिग्देल पनि डाक्टर आचार्यको भनाइमा सहमत छन् ।

कोरोना भाइरस पत्ता लगाउने विधि पिसिआर टेस्ट हो । डाक्टर सिग्देलका अनुसार पिसिआर टेस्टले शतप्रतिशत नतिजा दिँदैन । पिसिआर गराउँदा आएको नेगेटिभ रिपोर्ट कहिलेकाहीँ गलत पनि हुन सक्छ । भाइरसको आरएनए नदेखाएर रिपोर्ट फल्स नेगेटिभ आउने सम्भावना ४० प्रतिशतभन्दा अधिक हुने उनले बताए । फल्स नेगेटिभ आउँदा शरिरमा भइरसको आरएनए रहिरहने र फेरि समस्या देखिँदा पोजेटिभ आउने सम्भावना रहने उनले बताए ।

‘पोजिटिभ आएमा शरिरमा भाइरस छ भनेर पक्का हुन्छ,’ उनी भन्छन्, तर, पिसिआर रिपोर्ट नेगेटिभ आएको खण्डमा ४० प्रतिशत जति भाइरस शरिरमा भएको र पुनः टेस्ट गराउँदा रिपोर्ट आउने सम्भावना रहिरहन्छ ।’

फरक भाइरस वा भाइरसको स्ट्रेन पत्ता लगाउनका भाइरल कल्चर गर्नु पर्ने उनले बताए । तर कल्चर टेस्ट गर्ने प्रविधि नेपालमा छैन ।

एन्टिबडीको लेभल धेरै भएकामा तीन महिनासम्म रिइन्फेक्सन नहुने देखिए पनि एकै व्यक्तिलाई भाइरसबाट दोस्रो पटक संक्रमण हुने सम्भावना कति छ भनेर थाहा पाउन अनुसन्धान भइरहेको छ । पहिलो पटक सङ्क्रमण भएकै भाइरसको स्ट्रेन पुनः सङ्क्रमण भएको खण्डमा शरिरले विकास गरेको केही न केही एन्टिबडी रहिरहेको हुन्छ । तर, फरक स्ट्रेनबाट सङ्क्रमित भएमा यसविरुद्धको एन्टिबडी शरिरमा नहुने हुँदा गम्भीर हुने सम्भावना अधिक देखिन चिकित्सकहरू बताउँछन् ।

सङ्क्रमित बिरामीको उपचार गरिरहेका बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्लमोनोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डाक्टर पुरु कोइराला विराटनगरमा फरक प्रकार (स्ट्रेन) को भाइरस देखा परेको भन्न नसकिने बताउँछन् ।

कोरोना भाइरसको रिइन्फेक्सनको विषयमा थाहा पाउन अनुसन्धान हुन बाँकी रहेको उनले बताए । तर, एक पटक भाइरसबाट सङ्क्रमित भएर निको भइसकेपछि दोस्रो पटक पनि सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ ।

शरिरमा भाइरसविरुद्धको एन्टिबडीले तीन महिनासम्म रिइन्फेक्सन नहुने देखाए पनि एकै व्यक्तिमा दोस्रो पटक सङ्क्रमण हुन्छ भन्ने वैज्ञानिक प्रमाण नभेटिएको उनले बताए । तर, दोस्रो पटकको सङ्क्रमण हुँदा सङ्क्रमण दर र गम्भीर हुने अवस्था शरिरमा भएको भाइरल लोड, वातावरण र समयमा निर्भर हुने उनको भनाइ छ । भाइरसको फरक स्ट्रेनबाट संक्रमित भएमा पहिलाभन्दा स्वास्थ्य अवस्था गम्भीर हुने सम्भावना ५० प्रतिशतभन्दा धेरै हुने उनले बताए ।

jackson ribon