birat ribon

नेकपा : सच्चिने कि सिद्धिने ?

गाउँमा सिंहदरबार मात्र आएन कि सिंहदरबारसँगै ‘चन्द्र शमशेरहरू’ पनि आए

Neuro
नेकपा : सच्चिने कि सिद्धिने ?गाउँमा सिंहदरबार मात्र आएन कि सिंहदरबारसँगै ‘चन्द्र शमशेरहरू’ पनि आए
पेशल आचार्य

गरिब देशको राजनीतिमा सपनाको व्यापार धेरै हुन्छ । संसारका गरिब देशको राजनीतिले अहिलेसम्म देखाएको यही छ । बिहारका पूर्व मुख्यमन्त्री लालु यादव चुनावमा अनेक नौटङ्की देखाएर जनतासँग भोट मागी चुनाव जित्थे । उनी जनतासँग भन्थे, ‘पहिलोचोटी भोट दिएर जिताउनु भयो, म मुख्यमन्त्री भएर आफ्ना लागि सकेको गरेँ । दोस्रोचोटी फेरि जिताउनु भयो मैले आफ्ना नातागोताका लागि काम गरेँ । अब यो तेस्रोचोटी चाहिँ म तपाईंहरूको काम गर्नका लागि मात्र उम्मेदवार भएको छु । यो पटक फेरि मलाई भोट दिनुभयो भने म अवश्य तपाईंहरूको काम गर्नेछु ! जनतालाई यसरी जिल्याएर भोट मागेपछि बिहारी जनता चुपचाप भोट दिन्थे र जिताउँथे । सत्तामा बसेपछि भने उनको आफ्नै मर्जी हुन्थ्यो अनि उही ताल– अविकास, बेथिति र बेहाल ।

उनले बीसौं वर्ष बिहारमा शासन गरे । बिहार जस्ताको तस्तै । बिहारको हुलिया फेर्नका लागि नितीशकुमार नै मुख्यमन्त्री भएर आउनु पर्‍यो । अहिले बिहारले सहरी विकास, शिक्षा, स्वास्थ्य र सडक सञ्जालमा आशातीत प्रगति गरेको छ । मुलुक परिवर्तनका लागि सिस्टम मात्र दह्रो भएर नहुने रहेछ सो सिस्टमले उत्पादन गरेका नेताहरू पनि उपयुक्त हुनु पर्दो रहेछ भन्ने दृष्टान्त हो यो ।

cura insider

नेपालका धेरै दक्षिणी भूभाग बिहारसँग जोडिएका छन् । दोहोरो खुला सिमाना छ । उताका मानिस यता यताका मानिस उता बेहिसाबसँग आउन जान सक्छन् । पहिले जसरी अहिले पनि बिहारबाट नेपालमा धेरै उद्देश्यले मानिसहरू आउनेजाने गरिरहेका छन् तर फरक के छ भने अहिले उताको विकास र निर्माणले यताको विकास निर्माणलाई जिस्क्याइरहेको छ ।

हिजोका गरिब, फटाहा, हरितन्नम बिहारी जनताका मुहारमा अहिले नितीशकुमारले हाँसोखुसी र पउल उत्साह सञ्चार गरेका छन् । त्यहाँ कृषिको व्यापक विकास गरिएको छ । सरकारी स्कुलहरूमा छात्राहरूको भर्ना र पहुँच वृद्धिका लागि छात्रा सहयोग कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सहयोग दिइएका छन् । साइकल सहयोग, दिवा खाजा कार्यक्रम, बैँक खातामा छात्रवृत्ति रकम दिनेजस्ता प्रावाधनले बिहारको शिक्षाले तरक्की गर्दै लगेको छ । यी कुराहरूले उत्तरतिर रहेका नेपालीहरूलाई कुरीकुरी गरिरहेको भान हुन्छ ।

नेपालमा भने अझै सदियौंदेखिको पुरानो मानसिकता भएका शासकहरू र शासन व्यवस्था यद्यपि कामय छ । कोलाहल छ यहाँका शासकहरूमा । पाँच–दस वर्ष पनि नटिक्ने अस्थायी विकासका प्रपञ्चहरूको थालनी गरी जनतालाई अझै गुमराहमा राख्न चाहने र सैद्धान्तिकी गीता गाउने शासकहरूको कुनै कमी छैन ।

नेपालमा भने अझै सदियौंदेखिको पुरानो मानसिकता भएका शासकहरू र शासन व्यवस्था यद्यपि कामय छ । कोलाहल छ यहाँका शासकहरूमा । पाँच–दस वर्ष पनि नटिक्ने अस्थायी विकासका प्रपञ्चहरूको थालनी गरी जनतालाई अझै गुमराहमा राख्न चाहने र सैद्धान्तिकी गीता गाउने शासकहरूको कुनै कमी छैन ।

तुलना गर्दा यताका जनताले उताका जनतालाई भाग्यमानी र कर्मशील देख्न थालेका छन् । राजनीतिज्ञमा पनि जिम्मेवारीपूर्वक राजनीति गर्ने संस्कार उताकामा धेरै देखिएको पाइन्छ । उताका शासकहरूमा नैतिकता, जिम्मेवारीपना र राष्ट्रियता (MAN) बढी नै देखिन्छ ।

अहिले नेपालमा स्थापित संघीय शासन व्यवस्थाको समेत धेरैले धेरै कोणबाट विश्लेषण गरिरहेका छन् । गाउँघरमा सिंहदरबार आएकाले जनताले आफ्ना ससाना कामधाम र समस्याहरू गाउँघरबाटै सम्पन्न हुनेमा ढुक्क थिए । केहीमा भैदिएका पनि छन् तर भैदियो के भने गाउँमा सिंहदरबार मात्र आएन कि सिंहदरबारसँगै ‘चन्द्र शमशेरहरू’ पनि आए । एउटा केन्द्रीय सिंहदरबारले गर्ने शासनहरू ७६२ बटा सिंहदरबारहरूमा विभाजन भएपछि बेथिति र अकर्मण्यताहरू पनि क्रमशः बाँडिएका देखिए ।

यतिखेर मुलुक कोरोना कहरमा पूरै भासिएको छ । गजबको कुरो त के भने अहिले कति नेपालीलाई कोरोना संक्रमण छ त्यसको कुनै हिसाबकिताब यो मुलुकका शासकहरूसँगै छैन । यो कहर अन्त्यका लागि मुलुकका केन्द्रीय या प्रादेशिक सरकारले सजकतासाथ कोरोना भ्याक्सिनलाई जतिसक्दो चाँडो जनताका बीचमा लैजान सक्यो त्यति छिटो जनतालाई राहत हुने देखिन्छ । केन्द्रीय सरकारले कोरोनाको भ्याक्सिन खरिदका लागि केन्द्रीय तहमा ५० अर्ब बराबरको कोष समेत छुट्याएको भनिएको छ । यो मुलुकीको स्वास्थ्यका लागि धेरै राम्रो कुरा हो ।

कोरोनाको खोप मुलुकका सबै भूगोल, क्षेत्र र जनसङ्ख्यामा एकैपटक पुर्‍याउनका लागि प्रदेश र स्थानीय सरकारसँग केन्द्रीय सरकारले मिलेर काम गर्नुपर्छ । माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने कोरोना भ्याक्सिन खरिद, भण्डारण, वितरण र खोप लगाउने वातावरणका लागि समेत निकै ठूलो स्वास्थ्य जनशक्ति परिचालन हुनुपर्ने देखिन्छ ।

यो कार्यका लागि मुलुकमा छरिएर रहेका स्वास्थ्य केन्द्र, अस्पताल र सहरकेन्द्रित ठूला निजी अस्पतालहरूसँग ती उपकरणहरू भए–नभएको एकीन गरी चुस्त व्यवस्थापन गर्नु नै अहिलेको सरकारका लागि मुख्य चुनौतीको विषय बन्न पुगेको छ । नत्र बेथितिमाझ नै सोही बेलामा स्वास्थ्य क्षेत्रका माफियाहरू बेला न कुबेला फोहोरी खेल नखेल्लान् भन्न सकिन्नँ ।

यस्ता कार्यहरू अहिले मुलुकका लागि मुख्य कार्य सूचीका विषयहरू बनेका बेला सत्तासीन पार्टी नेकपामा भने दुई बूढा नेताहरूको दन्तबझानदेखि पत्रयुद्ध, सचिवालयमा गाँड कोराकोरा हुँदै स्थायी कमिटीमा छिनाझप्टी चलिरहेको देखिन्छ । दुवै नेताहरूका गुटले निरन्तर अन्य ससाना उपगुटहरूसमेत निर्माण गरिरहेका छन् । मुलुकमा अहिले दुईथरी मानसिकता भएका मानिसहरूको उपस्थिति देखिन्छ । एकथरी कहिले नेकपा फुट्ला र फुटको खेलो गर्दै नयाँ बाली पकाउन पाइएला भनी सोपछि लागेका छन् । अर्काथरी नेकपा फुट्नु हुँदैन भनेर न्वारानदेखिको बल निकालेर आफ्ना तर्फबाट लागिरहेका छन् । जनता ती दुवैथरी खेल दिक्क मानेर हेरिरहेका छन् ।

जनतालाई त हिजो पञ्चायती व्यवस्थामा समेत रमिते बनाइएको थियो । आज बहुदलमा पनि केवल रमितेकै भूमिकामा राखिएको छ । जनताको अभिमत पाएको त्यत्रो विशाल पार्टी जसले विकास र समृद्धिका लागि जनतालाई एक होइन अनेक सपना देखाउने काम गरेको थियो । अब ती सपनाहरू यी र यस्तै झगडाहरूका बीच सेलाउने स्थिति आएको देखियो ।

सञ्चारमाध्यममा आएका कुराहरूमा भर पर्ने हो भने नेकपाको विभाजनसँगै ‘वर्तमान संविधान धरापमा पर्ने, व्यवस्थासमेत कोल्याप्स हुने र जनताले ठूलो मूल्य चुकाउनु पर्ने’ भन्ने आशयका अभिव्यक्तिहरू नेताहरूकै मुखबाट बोलिएका छन् । यो अवस्थासम्म ल्याइपुर्‍याउने भनेकै नेताहरू हुन् र यो अवस्थाको निराकरण पनि नेताहरूकै विचार, व्यवहार र सुझबुझपूर्ण निर्णयहरूबाटै हुनुपर्छ । समस्या पर्दा सुतुर मुर्गाले मरुभूमिको बालुवामा टाउको लुकाएर सुरक्षित भएको भान गर्दै अभिनय गर्न मिल्दैन । जनताले त्यो पत्ता पाइहाल्छन् ।

देशले सधैँभरि विकासका मामलामा डेकलकको अवस्थालाई पर्खेर बस्न सक्दैन । जनताको धैर्यताको बाँध केहीगरी फुटिहाल्यो भने फेरि मुलुकले विग्रह, कोलाहल र दुन्दुभीको बाटो नसमाउला भन्न सकिन्नँ । अहिले राजावादीहरूको देशव्यापी रुपमा देखिएको सल्बलाहट् त्यो कुरा इङ्गित गरेको छ ।

नेपाली नेताहरूका विग्रहमा खेल्न पल्केका छिमेकी मुलुकहरू अहिले पनि हात धोएर हाम्रा कमजोरीमा दायाँबाँयातिरबाट उछाल्न सक्रिय भएर लागिरहेकै छन् । नेपाली राजनीतिमा धेरै लामो समयसम्म दक्षिण हावी थियो तर केही समय अघिदेखि उत्तर हावी हुन थालेको देखिन्छ । यो सब हाम्रै नेताहरूका बचकान्ना प्रवृत्तिले गर्दा भएको हो । हामी आफैँबाट सक्रिय र परिचालित हुने राजनीति कहिले सुरू हुने हो यो जनताका लागि तीव्र प्रतिक्षाको घडी भएको छ ।

कम्तिमा पनि यही पुस्ताका नेताहरूले नेपाली राजनीतिलाई सङ्ल्याएर दोस्रो र तेस्रो पुस्तामा सही राजनीतिको संस्कार हस्तान्तरण गरिदिने हो भने भोलिको पुस्ताले राजनीतिक संस्कार र सिस्टमबाट राहत पाउने थिए । त्यसका लागि सरकारलाई दह्रो काउन्टर दिन सक्ने प्रतिपक्ष र प्रतिपक्षका नेताहरूमा दम नभएकै देखियो ।

संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा आसनारुढ नेपाली काङ्ग्रेस र सत्ताको नायक मानिएका नेकपाका नेताहरूमा गूढ गम्भीर विचारहरूमा मतैक्यता हुनु पर्‍यो नत्रभने सधैँभरि विदेशीका गोटीका चाल भएर राजनीति गरिरहने हो भने नयाँ पुस्ताले हाम्रो राजनीतिलाई क्रमशः पत्याउन छाड्छन् । अहिले पनि नयाँ, पठित, चुस्त र सक्षम पुस्ता राजनीतिको हराउँदै गएको शाखबाट क्रमशः टाढाटाढा भाग्दै गएको स्थिति छ ।

पूर्ववतरूपमा राजनीतिलाई सही ट्रयाक र शैलीमा ल्याउनका लागि मुलुकका अभिभावक मानिएको नेकपाले सच्चिनुको कुनै विकल्प छैन । उसका अघिमात्र दुई विकल्प रहेका छन्– सच्चिने कि सिद्धिने ? अहिलेका माहोलमा राजावादीहरूका सडक आन्दोलनले पनि सोही दिशानिर्देश गरिरहेको छ । बहुदलीय प्रजातन्त्रको विकल्प बहुदलीय प्रजातन्त्र नै भएकाले राजनीतिक पार्टीहरू अहिले जीवनमरणका दोसाँधमा रहेका छन् । कुरोको चुरो यही हो ।

jackson ribon