Rumpum Advertisement

कोरोना कोषमा १० करोड थप

कोरोना कोषमा १० करोड थप

विराटनगर, २१ मंसिर । प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा थप १० करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त रकम कोरोना संक्रमितको उपचार र कोरोना रोकथामको कार्यमा खर्च गरिने छ । बैठकले सार्वजनिक यातायातको दस्तुर जरिवाना र थप जरिवाना मिनाहाको म्याद पनि थप गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आगामी पुस १५ सम्मका लागि सार्वजनिक यातायातको दस्तुर जरिवाना र थप जरिवानाको लागि म्याद थप गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि केही सवारी साधन खरिदका लागि सहमति प्रदान गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै भूमि समस्या समाधान आयोगमा प्रदेशबाट मनोनित गोपाल गुरागाईंलाई नेपाल सरकारको सचिव सरहको सुविधा प्रदान गर्ने निर्णय पनि भएको छ । मन्त्री कार्कीका अनुसार संघीय सरकारबाट हस्तान्तरित ताप्लेजुङ विमानस्थलबाट पाथीभरासम्मको सडकलाई चाँडो सम्पन्न गर्नुपर्ने भए पनि कोरोना प्रकोपका कारण बजेट अभाव भएपछि संघीय सरकारलाई नै फिर्ता गर्ने निर्णय बैठकमा भएको छ । हाम्रोमत दैनिकमा समाचार छ