Rumpum Advertisement

झापा र उदयपुरमा भएका दुर्घटनामा दुईको मृत्यु

Neuro
झापा र उदयपुरमा भएका दुर्घटनामा दुईको मृत्यु

विराटनगर, २१ मंसिर । झापा र उदयपुरमा शनिबार राति भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को २ प ६९७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री शिवसताक्षी–११ का ३२ वर्षीय रमेश विष्टको मृत्यु भएको हो । राति ९ बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्री ३९ वर्षीय ईश्वरीप्रसाद तिम्सिना घाइते भएका छन् । उनको बिर्तामोडमै उपचार जारी छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

त्यस्तै उदयपुरको वेलका नगरपालिका–८ सेती खोलास्थित मदन भण्डारी सडक खण्डमा पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । सवारीको ठक्करबाट पैदल यात्री अन्दाजी ४० वर्षीय हरि खत्रीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । खत्रीको घटनास्थलमै मृत्यु भए पनि सवारी साधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।