Rumpum Advertisement

राज्यमन्त्री गजमेरद्धारा बिरामी वृद्धको उद्धार

राज्यमन्त्री गजमेरद्धारा बिरामी वृद्धको उद्धार

विराटनगर, २१ मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ ।

विगत नौ वर्र्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गरेकी हुन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको थियो । घरमा रहेका एक मात्र सन्तान २५ वर्षीय छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याइएको छ ।

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताइन् । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको उनले बताइन् । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताइन् ।

करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो । उद्धार गरिएका राईको स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए ।