Rumpum Advertisement

इटहरीमा अग्रज–अनुज मन माझामाझ

Neuro
इटहरीमा अग्रज–अनुज मन माझामाझ

सुनसरी/अनुज : कार्यक्रममा देशमै नाम चलेका कवि–लेखक आउनुहुने थाहा पाएर हामी चिचिले लेखकहरू आउँछौँ, उहाँहरूसँग सेल्फी खिच्छौँ, सामाजिक–सञ्जालमा पोस्ट गछौँ, खुसी हुन्छौँ । तर गहिरिएर विचार गर्दा हामीले आफ्नो लेखनलाई सुधार्ने अवसर चाहिँ कतिखेर पाउँछौँ ?

अग्रज : अहिलेको पुस्ता बीच–बीचमा निकै सुन्दर–सुन्दर हरफहरू लेखिरहेको छ । तर अहिलेको पुस्तामा एउटा के समस्या देखिएको छ भने कसैले एउटा राम्रो लेखेको देखेर प्रशंसा गरिदियो भने ऊ हौसिएर ११ वटा नराम्रो लेख्छ । आफैँले लेखेको, प्रशंसा गरिएको स्तर कायम राख्नुपर्ने बारे गम्भीर हुँदैन । हतारको मात्रा धेरै छ ।

अनुज : अग्रज पुस्ताले हामीलाई ध्यान दिँदैन । अलि ठुलो कार्यक्रममा पुगेकोबेला अनुजहरूलाई सम्झिदैन । औपचारिक–अनौपचारिक परिस्कारको बाटो देखाउँदैन । हामीलाई एकप्रकारको बहिस्करणमा पारेजस्तो लाग्छ ।

अग्रज : यो एउटा तीतो सत्य हो । जसरी हाम्रा अग्रजहरूले हामीलाई हुर्कने वातावरण बनाइदिए, उसैगरी हामीले साहित्यमा आउन खोजिरहेको पुस्तालाई समय दिन पाएका छैनौँ । तर नसोधी–नखोजी दिएको सल्लाह बिख होला कि भन्ने डर पनि छ ।

कोरोनाका कारण सुस्ताएर ‘कोमा’मा पुग्न लागेको साहित्यिक यथास्थितिमा क्रमभङ्ग गर्दै शनिबार क्यानभास साहित्यिक समाज इटहरीले आयोजना गरेको साहित्यिक संलापमा अग्रज–अनुज लेखक–कविबीच यसैगरी मन माझामाझ भयो ।

बीचमा उत्पन्न असहज परिस्थिति र संवादहीनताका कारण अग्रज–अनुजबीच केही दूरी बढेको स्वीकार गर्दै कार्यक्रम बिट मार्नुअघि सहभागीहरू सहमत भएको निष्कर्ष थियो, ‘अब औपचारिक–अनौपचारिक भेटघाट र संलापहरू बढाउनुपर्छ । बिस्तारी दूरी कम हुँदै जान्छ । लेखन स्तर बढ्दै जान्छ ।’

सङ्गीत–साधना प्रतिष्ठान नेपालको सहकार्यमा आयोजित सो साहित्यिक संलाप गोलमेच शैलीमा सञ्चालन गरिएको थियो, जसमा सहभागी कवि–लेखकले घडीको सुईको दिशामा आएको पालोअनुसार रचना सुनाएका थिए । कार्यक्रमको नाम ‘कोरोना कहरमा नेपाली साहित्य विषयक विचार गोष्ठी तथा साहित्यिक भेटघाट’ राखिएको थियो ।

कार्यक्रममा भीम खतिवडा, मनु मन्जिल, बद्री भिखारी, देवान किराती, सुविद गुरागाई, सुदीप पाख्रिन, राम खरेल, राज आशातीत, नवराज मैनाली, सन्तोष थेवे, रोमु अधिकारी, विवेक विवश रेग्मी, विनय सरगम, विकेश कविन, किरण चौलागाई, अस्मिता भट्टराई, दीपा वाग्ले, पुस्तिका भण्डारी, किरण शिवा, मनोज दाहाल, विनोद राई, सुमन रेग्मी, मिलन चाम्लिङलगायतले साहित्यिक रचना सुनाएका थिए ।

समाजका अध्यक्ष भरत दाहालले कोरोनाका कारण टुटेको साहित्यिक भेटघाट तथा संलापको सिलसिला प्रत्येक महिना जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।