Rumpum Advertisement

सर्खार ! मलाई मेरी आमाकै नामबाट नागरिकता देऊ

सर्खार ! मलाई मेरी आमाकै नामबाट नागरिकता देऊ
शोभा बजगाई

एउटा अनिँदो सपना
मसँग दैनिक वार्ता गर्न आउँछ
अबाटोमा आउँछ
दोबाटोमा आउँछ
तर सधैं आइरहन्छ ।

तिमीलाई थाहा छ ?
ताते गर्दै मलाई हिडाउँदा
मेरा हत्केलाभरि अटाउने
मेरी आमा …
आँखा चिम्म गरी सम्झँदा
आँखाभरिको संसारमा अटाउने
मेरी आमा …
मैले लिने यी हावाका सूक्ष्म
कण–कणमा अटाउने
मेरी आमा …

अनि,
त्यो कागजको सानो टुक्राको
छेउको एउटा कुनामा
किन अटाउँदिनन् सर्खार
मेरी आमा ?

मेरो विस्मरणमा नभएको
स्मरणमा पनि नभएको मेरो बाबुको चित्र
जो मेरी आमाको विश्वासमा अडेको छ
त्यो चाहिँ स्वीकार्य हुने
तर मेरी आमाको नाम
किन मेरो नागरिकतामा स्वीकार्य नहुने ?

आमाले रगत सिञ्चिएर
तिम्रा हातका रेखा कोरिन्
तिनै हातहरु आज
अघिल्तिरबाट उनकै
पहिचानको हत्यारा बनेको
के म मुकदर्शक बनेर हेरौं ?

नागरिकताका अक्षर त्यतिबेला निर्जिव हुन्छन्
जतिबेला भावना मिसिँदैन
जतिबेला आमा मिसिन्नन्
त्यसैले निस्प्राण अक्षरमा
मेरी आमाको हक भर सर्खार ।

कस्तो प्रमाण खोज्दै छौ सर्खार तिमी ?
बीर्य वमन गरेर वेपत्ता भएको बाउको
नाम किमार्थ सह्य छैन मलाई
मेरो परिचयमा ।

सक्छौ भने मलाई मेरी आमाको
नामकै नागरिकता देऊ
नत्र भने म अनागरिक नै सही छु ।