इलाम/कोरोना संक्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।
विभिन्नखालका रोग प्रतिरोधात्मक क्षमता बढाउनेखालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताए ।
त्यसका लागि वडाभित्र संक्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ ।
हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी संक्रमित रहेको वडा हो । इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा संक्रमितको संख्या बढी रहेको छ । वडाध्यक्ष श्रेष्ठले यस वडामा संक्रमितको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताए ।
साथै कोरोना संक्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ । रासस