Rumpum Advertisement

‘चलचित्र महोत्सव–२०७८’ वैशाख १७ गतेदेखि हुने

‘चलचित्र महोत्सव–२०७८’ वैशाख १७ गतेदेखि हुने

विराटनगर/कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले आयोजना गर्न लागेको ‘चलचित्र महोत्सव–२०७८’ यही वैशाख १७ देखि सुरु हुने भएको छ । महोत्सव वैशाख १७ देखि तीन दिनसम्म चल्ने छ ।

प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनका लागि एकदमै उपयुक्त स्थान भएकाले यहाँको चलचित्रकर्मीहरुलाई उत्साहित गराउँदै प्रदेश न १ को पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष अरुणकुमार प्रधानले बताए ।

‘महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नका लागि प्रदेश १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरुका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधाअन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना बनेको छ,’ प्रधानले भने, ‘तयारीस्वरुप नै महासंघका विभिन्न शाखाका पदाधिकारीहरुसहित शुक्रबार प्रदेश एकका मुख्यमन्त्रीसहित विभिन्न विभागका मन्त्रिहरुसँग भेटघाट र छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला, कानुन, गृह तथा सञ्चार मन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन तथा वन मन्त्री माननीय जगदीश कुशियत, अर्थमन्त्री माननीय मौसम लिम्बूलगायतसँग छलफल भएको अध्यक्ष प्रधानले बताए ।

गत वर्ष कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म प्रदेश १ सरकारद्वारा सम्पन्न गर्न लागिएको ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०७७“ मा महासंघका पदाधिकारीहरुको महत्वपूर्ण भूमिका रहेको थियो तर पनि विभिन्न प्राविधिक कारणले महोत्सव रोकिएको थियो । उनीहरुसँग भेटेर कार्यक्रमबारे जानकारीसहितको प्रस्तावनापत्र पेश गरिएको छ । उक्त भेटलाई नेपाल सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले व्यवस्थापन गरेका थिए । महोत्सव कार्यक्रम प्रदेश एकका विभिन्न शहरमा चरणबद्धरुपमा सञ्चालन हुने महासचिव दिनेश कोइरालाले बताए ।