birat ribon

मोरङको सुनवर्षीबाट हतियार कारोबारी पक्राउ

Neuro
मोरङको सुनवर्षीबाट हतियार कारोबारी पक्राउ

विराटनगर, २० मंसिर । प्रहरीले हतियारको कारोबारमा संलग्न एक व्यक्तिलाई पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।

cura insider

भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘भागलपुरतिरबाट लुकाईछिपाई हतियार नेपाल ल्याउने गरेको पाइयो,’ उनले भने, ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ तर नेपालमा उनीबाट हतियार किन्नेको भने अझैसम्म पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एउटा मदिरा पसलमा मदिरा सेवनका लागि बसेका बेला मण्डलले कम्मरमा भिरेको अवस्थामा पेस्तोल देखिएको खड्काको भनाइ छ । कम्मरमा हतियार देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेपछि पक्राउ गर्न सकिएको उनले बताए । मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

jackson ribon