Rumpum Advertisement

अमेरिकामा व्यक्तिगत इच्छाका आधारमा खोप

Neuro
अमेरिकामा व्यक्तिगत इच्छाका आधारमा खोप

विराटनगर, २० मंसिर । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा भने व्यक्तिगत इच्छाका आधारमा मात्रै लगाइने भएको छ ।

विभिन्न मुलुकमा बनेका खोपको अन्तिम परीक्षण भइरहँदा र प्रयोगका लागि खोप तयार पारिँदै गर्दा अमेरिकामा जबरजस्ती खोप कसैलाई पनि नलगाइने भएको हो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्ना मुलुकका नागरिकलाई कोरोनाविरुद्धको खोपमा जबरजस्ती नगरिकने स्पष्ट पारे ।

खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताउँदै उनले सबै नागरिकले आफ्नो व्यक्तिगत इच्छाका आधारमा खोप ग्रहण गर्नसक्ने बताए । बाइडेनले सबै नागरिकलाई खोप लगाउने कि नलगाउनेभन्ने निर्णय गर्ने अधिकार रहेको बताएका छन् ।

यसअघि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले पहिलोपटक घर भित्रै रहँदा पनि मास्कको प्रयोग गर्न सुझाव दिएको थियो । अमेरिका कोरोनाबाट प्रभावितमध्ये पहिलो नम्बरमा रहेको मुलुक हो । उच्च संक्रमणका दरको चरणमा प्रवेश गरेको भन्दै सिडिसीले घर भित्रै बस्दा पनि अमेरिकीलाई मास्क लगाउनु पर्ने सुझाव दिएको थियो ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४७ लाख ५० हजार सात सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार चार सय ७६ नयाँ बिरामी थपिए ।

संक्रमितमध्ये दुई लाख ८५ हजार तीन सय ८७ जनाको मृत्यु भइसकेको छ । एकै दिन दुई हजार पाँच सय ५३ जनाको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ८६ लाख ४३ हजार तीन सय ६१ जना उपचारपछि घर फर्किएका छन् । ५८ लाख २१ हजार नौ सय ९१ जना उपचाररत रहेकोमा २६ हजार एक सय ५१ जनाको अवस्था गम्भीर छ ।

आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने बाइडेनले आफ्नो शपथग्रहण समारोह सीमित व्यक्तिको उपस्थितिमा हुने पनि बताएका छन् । तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोदेर्नाका खोपले अमेरिकामा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिएका छन् ।

बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना छ ।
गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको निर्णयको कुरा हो ।’ हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयार छन् ।