Rumpum Advertisement

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

Neuro
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

विराटनगर, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरुले शुक्रबार सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावासहितको प्रतिवेदन प्रधामन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तकनै तयार गरेर सार्वजनिक गरेका हुन् ।

आयोगका सदस्यहरु श्याम श्रेष्ठ, विद्यानाथ कोइराला, सुजनबाबु मरहठ्ठा, विमलकुमार फुयाँल, रामस्वार्थ राय, कृष्णप्रसाद पौडेल, टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, सुशन आचार्य, बाबुराम थापा, लक्ष्मण शर्मा, सदानन्द कँडेल र मीनबहादुर विष्टले प्रतिवेदन सार्वजनिक गरेका हुन् । आयोग २५ सदस्यीय थियो । प्रतिवेदनमा मन्त्री पोखरेल लगायत पूर्वशिक्षामन्त्री, सरकारी पदमा रहेका तथा नियुक्ती पाएका र निजी विदालयतर्फका सदस्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।

आयोगले २०७५ माघ १ गते बुझाएपछि प्रधानमन्त्री ओलीले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिने बताएका थिए । निजी विद्यालयलाई गैरनाफामूलक बनाउनेलगायत सिफारिसका कारण सरकारले प्रतिवेदन सार्वजनिक नगरेको स्रोतको दाबी छ । आयोग सदस्यमध्ये कोइरालाले सरकारले सुझाव कार्यान्वयनमा ल्याउनुपर्नेमा छलफलमासमेत नल्याएकोभन्दै असन्तुष्टि जनाए ।

शिक्षा सुधारका लागि सुझाव संकलन गर्ने हिसाबले सरकारले २०७५ असार ३२ गते आयोग गठन गर्ने निर्णय गरेको थियो । सार्वजनिक शिक्षा सुधार हुनुपर्छ भनेर दिएको प्रतिवेदन सरकारले लुकाएर राखेपछि असन्तुष्ट सदस्यले सार्वजनिक गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ