Rumpum Advertisement

भारतमा चर्कियो किसान आन्दोलन

Neuro
भारतमा चर्कियो किसान आन्दोलन

विराटनगर, २० मंसिर । छिमेकी मुलुक भारतमा पछिल्लो समय किसान आन्दोलन चर्किएको छ ।

केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा नौ दिनदेखि किसानहरु आन्दोलनमा छन् । पछिल्लो समय माग सम्बोधन गर्न सरकार उदासिन भएकोभन्दै किसानले आन्दोलनलाई थप चर्काएका छन् । आन्दोलनमा होमिएका किसानाले आगामी डिसेम्बर ८ (मंसिर २३) गते भारत बन्दको घोषणा गरेका छन् ।

केन्द्र सरकार र किसानबीच शनिबार फेरि वार्ता हुन लागेपछि सहमतिको सम्भावना नरहेको बताइएको छ । वार्ताको अघिल्लो दिन किसानले सिंगो मुलुक बन्दको घोषणा गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेपछि वार्ताबाट सहमति निस्कने सम्भावना न्यून रहेको हो ।

अब दिल्ली प्रवेश गर्ने थप सडकहरुसमेत बन्द गर्ने चेतावनी दिँदै किसनाले त्यहीअनुसारको तयारी थालेका छन् । किसानहरुको आन्दोलनप्रति उच्च ओहोदाका राजनीतिकर्मीहरुले पनि समर्थन जनाउन थालेका छन् । सरकारवाहेक सबै पक्षबाट साथ पाएका किसान आन्दोलनलाई थप शक्तिसाली बनाएर लैजाने पक्षमा छन् । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाएकी छन् । उनले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताएकी हुन्।

यसैबीच लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन्। पछिल्ला नौ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन चर्काएका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन्।

कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ। तर भारत सरकारले किसानको मागको सम्बोधन गर्न सकेको छैन । किसानलाई जसरी भए पनि फर्काएर कानुन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।