Rumpum Advertisement

‘स्केबिज फ्री विराटनगर’ अभियान सुरु

‘स्केबिज फ्री विराटनगर’ अभियान सुरु

विराटनगर / युथ ह्याण्डस् फर भ्वाइसलेस संस्थाका युवाहरूले विराटनगर महानगर क्षेत्रभित्र रहेका सडक तथा घरपालुवा कुकुरहरूलाई स्केबिजविरुद्धको खोप लगाउन सुरु गरेका छन् ।

संस्थाको ‘स्केबिज फ्री विराटनगर’ अभियानअन्तर्गत कुकुरलाई स्केबिजविरुद्धको खोप लगाउन सुरु गरिएको हो । गत मङ्गलबारदेखि सुरु गरिएको अभियानको चौथो दिन आज युवाहरूले विशेषगरी सडकमा रहेका एक दर्जन बढी छाडा कुकुरहरूलाई खोप लगाइदिएका हुन् ।

स्केबिजलाई नेपालीमा सजिलो रूपमा बुझ्ने हो भने यसलाई लुतो भनिन्छ । ‘सार्कोप्टेस स्काबी’ नामक किटाणुको सङ्क्रमणबाट यो रोग जनावर र मानिसमा सर्ने गर्छ । स्केबिज नियन्त्रणका लागि अन्तर्राष्ट्रिय गठबन्धन (आईएसीएस) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्याङ्कलाई आधार मान्ने हो भने यसले जुनसुकै समयमा पनि विश्वका एक अर्ब ३० करोड मानिसलाई सङ्क्रमित बनाउन सक्छ ।

छालामा सङ्क्रमण हुँदै सुरु हुने स्केबिजले मानिसको छालामा त समस्या दिन्छ नै सँगै मुटु र मृगौलामा असर पुर्‍याउँदै मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ । कुकुरबाट पनि मानिसमा सजिलै यो रोग सर्नसक्ने भएकाले विराटनगरका युवाहरूले स्केबिजविरुद्धको खोप लगाउने अभियानको थालनी गरेका हुन् ।

कुकुरमा यो रोगको सङ्क्रमण भएपछि शरीरको विभिन्न भाग चिलाउने, स–साना राता बिबिरा जस्तो घाउ देखिने, फोका वा गाँठो पर्ने तथा भुत्ला झर्नेलगायतका लक्षणहरू देखा पर्न थाल्छ ।

सङ्क्रमित जनावर वा मानिससँग कुनै पनि स्वास्थ्य मानिस वा जनावरको छाला कुनै पनि तरिकाले सम्पर्क आएपछि यो रोग सजिलै सर्नसक्ने भएकाले विराटनगरका घर पालुवा र छाडा कुकुरहरूमा स्केबिजविरुद्ध प्रयोग गरिने ‘आइबरमेक्टिम’ खोप लगाउन सुरु गरिएको संस्थाकी सदस्य शिल्पा सुवेदीले बताइन् ।

कुकुरहरूमा हुने छालासँग सम्बन्धित साथै अन्य सबै प्रकारका रोगविरुद्ध लड्न आइबरमेक्टिम प्रभावकारी साबित भएकाले लगाउन सुरु गरिएको उनले बताइन् ।

छालामा स्केबिजको किटाणु सरेको तीनदेखि चार दिनभित्र फुल पार्ने र सो फुलबाट एकदेखि दुई साताभित्र सङ्क्रमण फैलाउने किटाणु वयस्क हुन्छ । त्यसको ६ सातापछि छालामा चिलाउने र दागहरूमा देखिन सुरु हुन्छ ।

यो रोग लागेपछि फेरि पनि संक्रमण हुनसक्ने सम्भावना भइरहने भएकाले सम्भावित सङ्क्रमणबाट सुरक्षित हुन सन्देश दिँदै ‘स्केबिज फ्री विराटनगर’ अभियान सुरु गरिएको अभियन्ताहरू बताउँछन् ।

सो अभियानमा रमन अधिकारी, निरञ्जन सिंह, स्वीकृति कोइराला, प्रशान्त रोकाया र वसन्त रोयलगायत सहभागी छन् ।