Rumpum Advertisement

कोसी कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्री खरिदमा तीन करोडको चलखेल, हतारमा सम्झौता

Neuro
कोसी कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्री खरिदमा तीन करोडको चलखेल, हतारमा सम्झौता

विराटनगर/ कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको छ । अस्पतालमा एचडियू (हाइड डिपेन्डेन्सी युनिट) सञ्चालन र जडानका लागि सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको हो । अस्पताल विस्तारका लागि संघीय सरकारले ९ करोड बजेट विनियोजन गरेको थियो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय माहतमा रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले मेडिकल उपकरण खरिदका लागि कात्तिक २८ गते सूचना निकालेको थियो ।

इलेक्ट्रोलिक बिडिङमार्फत ३ वटा सप्लायर्स कम्पनी छनोट भएका थिए । कम मूल्यमा सप्लाईको दाबी गर्नेलाई जिम्मा दिनुको साटो निर्देशनालयले ३ करोड बढी बिडिङ गर्ने सप्लायर्ससँग सम्झौता गरेको हो ।

सप्लायर्ससँग निर्देशनालयले सामान आपूर्तिका लागि सम्झौता पनि रातारात गरिसकेको छ । स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताका अनुसार शुक्रबार तीनकुने काठमाडौंमा रहेको र हस्पिटेक इन्टरप्राइजेजसँग स्वास्थ्य सामग्री आपूर्तिका लागि सम्झौता भएको हो ।

‘हामीले त सम्झौता गर्‍याैं, अब सामान आउँछ’, स्वास्थ्य निर्देशक मेहताले भने, ‘प्राविधिक समितिको सफारिसअनुसार सप्लायर्स छनोट भएको छ ।’

संघीय सरकारले बजेट विनियोजन गरेपछि निर्देशनालयले अनलाइन बोलपत्र आह्वान गरेको थियो । अनलाइन प्रतिस्पर्धामा सहभागिता जनाएकामध्ये निक्की फर्मा डिस्टीब्यूटरले ५ करोड १ लाख ८७ हजार ७६३, जिआइएच हेल्थ केयर प्रालिले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ र हस्पिटेक इन्टरप्राइजेज तीनकुने काठमाडौंले ८ करोड २९ लाख १९ हजार ४०० रुपैयाँको प्रस्ताव अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएको थियो ।

टेन्डर प्रक्रियामा न्यूनतम मूल्य पेश गर्नेले ठेक्का पाउँछ । तर निर्देशनालयले भने ३ करोड २८ लाख बढीको बोलपत्र पेश गर्ने सप्लायर्ससँग सम्झौता गरेको हो ।

‘स्वास्थ्य सामग्री खरिदमा सीधै तीन करोड रुपैयाँ चलखेल भएको प्रष्ट देखिन्छ,’ प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोत भन्छ, ‘टेन्डर प्रक्रिया र छनोट हतार–हतार गर्दा बीचमा चलखेल भयो ।’

यता, क्षेत्रीय निर्देशक मेहता प्राविधिक समितिमार्फत आएको रिपोर्टका आधारमा बढी शुल्क पेश गर्नेलाई जिम्मा दिएको स्वीकार गर्छन् । उनका अनुसार सामग्रीको स्पेसिफिकेसनका आधारमा महँगो मूल्य पेश गर्ने छनोटमा परेका हुन् ।