Rumpum Advertisement

यी हुन् चिसो र फ्लूको जोखिम कम गर्ने आठ तरिका

यी हुन् चिसो र फ्लूको जोखिम कम गर्ने आठ तरिका

विराटनगर/ मौसम परिवर्तन भएसँगै प्रायः सबैको घरघरमा चिसो र फ्लूको समस्या देखापर्ने हुन्छ । चिसो र फ्लूबाट सङ्क्रमित भएका व्यक्ति लक्षण देखाउनु २४ घण्टाअघि सङ्क्रामक हुन्छन् ।

त्यसैले, साधारण चिसो र फ्लूसहित कुनै पनि प्रकारको भाइरल सङ्क्रमणको रोकथामको सरल तरिका भनेको सरसफाइमा ध्यान दिनुका साथै उचित स्वच्छता कायम राख्नु हो । चिसो र फ्लू भाइरसको जोखिम कम गर्नको लागि केही उत्तम तरिका यस्ता छन्ः

१. प्रत्येक चोटी खाना खानुअघि, सार्वजनिक यातायातमा यात्रा गर्दा, हाच्छ्यूँ गर्दा वा खोकेपछि हात धुने बानी बसाल्नुहोस् । सबै ठाउँमा हात धुन सम्भव नभएको हुँदा बाहिर हिँड्दा सेनिटाइजरको प्रयोग गर्न सकिन्छ ।

२. चिसो र फ्लूबाट बच्नका लागि भीडभाड भएको ठाउँ जानुअघि सावधान हुनु आवश्यक छ । चिसो र फ्लूबाट पीडितको सम्पर्कमा जानुअघि मुख छोप्नका लागि मास्क वा रुमालको प्रयोग र सामाजिक दुरीको अभ्यास गर्नुपर्छ ।

३. भाइरसको फैलावटलाई रोक्नको लागि हाच्छ्यूँ गर्दा वा खोक्दा आफ्नो कुहिनोले मुख छोप्ने बानी बसाउनुपर्छ ।

४. हाच्छ्यूँ गरेपछि वा खोकेपछि अनुहार छुने गर्नुहुँदैन ।

५. नियमित रूपमा सामान्य दैनिक छोइने वस्तुहरूलाई सफा गर्नुपर्छ । ढोकाका ह्याण्डल, स्मार्टफोन, धारा, किबोर्ड लगायतका वस्तुलाई नियमित रूपमा सफा गरिरहनुपर्छ ।

६. धुम्रपान वा असक्रिय धुम्रपानबाट पनि जोगिनुपर्छ । यसले जलन निम्त्याएर चिसोका लक्षणलाई बिगार्न सक्छ ।

७. कपडाको रुमाल प्रयोग गर्नुभन्दा पनि टिस्युको प्रयोग गरे यसले दूषित हुनबाट बचाउँछ । प्रयोग गरिसकेको टिस्युलाई राम्ररी डस्टबिनमा फ्याक्नुपर्ने हुन्छ ।

८. मौसमी फ्लूबाट बच्नका लागि फ्लूविरुद्धको खोप पनि लिन सकिन्छ ।