Rumpum Advertisement

‘साइलेन्ट निमोनिया’को जोखिम बढ्दो

Neuro
‘साइलेन्ट निमोनिया’को जोखिम बढ्दो

विराटनगर/ कोरोना भाइरसबाट सङ्क्रमित भएका केही व्यक्तिमा लक्षण देखिँदैन । केही सङ्क्रमितमा भने सामान्य रुघाखोकी, ज्वरो तथा फ्लुका जस्तो लक्षण देखिन सक्छन् । जोखिम समूहमा रहेका सङ्क्रमितमा सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने, निमोनिया भइ अस्पताल भर्ना हुनुपर्नेसमेत हुनसक्छ । पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिए पनि गम्भीर खालको समस्या नदेखिएसम्म अस्पताल जानु नपर्ने अधिकांशको सोच रहेको छ ।

घरमै बसेका सङ्क्रमितलाई सानो समस्या भए तुरुन्तै अस्पताल जाने कि नजाने भन्ने दोधार पनि छ । त्यसैले, होम आइसोलेशनमा बसेका संक्रमितमा कोरोना लक्षण देखिएर श्वासप्रश्वासमा समस्या आएमा समेत अस्पताल नगइ अक्सिजनको सहायतामा घरमै बस्दैआएका छन् ।

अस्पतालमा बेड नभएर वा सङ्क्रमितमा पर्याप्त जानकारी पनि छैन । सङ्क्रमितले आफूमा देखिएको लक्षण सामान्य मात्र हो यसले केही हानि हुँदैन भनी सोचेर लापरवाही गरेमा, समयमा अस्पतालमा गएर उपचार नपाएमा कोभिडका सङ्क्रमित गम्भीर हुने वा मृत्युसमेत हुने सम्भावना धेरै हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमण हुँदा एकदमै छिटो गतिमा फोक्सोमा असर पुर्‍याउनेगरी निमोनिया हुन्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्ने, शरीरमा अक्सिजनको मात्रा कम हुने जस्ता लक्षण देखा पर्छ । कहिलेकाँही कुनै कोभिड बिरामीमा सास फेर्ने समस्या नभएपनि अक्सिजनको स्तर नाप्दा शरीरलाई चाहिने अक्सिजनको मात्रा पुगिरहेको हुँदैन ।

हाल कोभिड सङ्क्रमितलाई ‘साइलेन्ट निमोनिया’का कारण संक्रमण गम्भीर भएको चिकित्सकहरूले बताउँदै आएका छन् । अस्पतालमा धेरैजसो आउने सङ्क्रमित र होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई ‘साइलेन्ट निमोनिया’ ले नै गाह्रो बनाइरहेको सङ्क्रमितको उपचार गरिरहेका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्लमोनोलोजिष्ट तथा क्रिटिकल केयर फिजिसियन डा. पुरु कोइराला बताउँछन् । विराटनगरमा गम्भीर निमोनियाका रोगीहरू बढिरहेका छन् । त्यसमा पनि अस्पताल भर्ना हुने ८० प्रतिशत सङ्क्रमितमा साइलेन्ट निमोनियाको समस्या देखिन थालेको डा. कोइरालाको भनाइ छ ।

घरमा बसेका सङ्क्रमितमा पनि अक्सिजन स्याचुरेसनको मात्रा घटेपछि साइलेन्ट निमोनिया भइरहेको हुन्छ । घरमा बसेका अधिकांशले अक्सिजन स्याचुरेसन मूल्यांकन गरिरहेका हुन्छन्, उनले भने, ‘केही दिन आराम भएपनि एकैपटक अक्सिजनको मात्रा घटेको थाहा पाउना साथ आत्तिएर अस्पताल आउने वा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्ने गर्छन् । साइलेन्ट निमोनियाको लक्षण भनेकै अक्सिजनको मात्रा अचानक घट्ने हो । साथै, छाती भारी हुने, छाती दुख्ने समस्या हुन सक्छ । साइलेन्ट निमोनियामा खासै ज्वरो र खोकीको समस्या देखा नपर्न पनि सक्छ ।

त्यसैले होम आइसोलेशनमा बस्ने सङ्क्रमितले समेत लगातार अक्सिजनको लेभल नापिरहनुपर्छ, आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्ने हुन्छ ।

कोसी अस्पतालका सिनियर फिजिसियन डा. दीपक सिग्देलका अनुसार ‘साइलेन्ट निमोनिया’को समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढेको छ । जाडो मौसम बढेसँगै होम आइसोलेशनमा बसेका संक्रमतिलाई मात्र नभएर अन्यलाई पनि छिटो निमोनिया हुन सक्छ ।

‘अहिले जाडो मौसमको सिजन पनि छ । अधिकांशलाई निमोनिया लाग्ने सम्भावना उच्च रहन्छ,’ उनले भने, ‘त्यसमा पनि दमका बिरामीमा यसै पनि अक्सिजनको मात्रा कम हुनसक्छ ।’

दमका बिरामीमा अन्य संक्रमण हुने भएका कारण निमोनियाका हुन सक्छ । उनका अनुसार अस्पताल आएका धेरैजसो दमका बिरामीलाई निमोनिया भएको भनेर शंका गरिरहँदा तीमध्ये धेरैमा कोरोनाको सङ्क्रमण पनि देखा परिरहेको छ । साइलेन्ट निमोनिया हुँदा विस्तारै भित्रभित्रै फोक्सोको संक्रमण भएर फोक्सोलाई कडा बनाउने गर्छ । जसकारण अक्सिजनको मात्रा विस्तारै घट्दै जान्छ । यो भाइरल निमोनियामा विशेषगरी कोभिडको संक्रमणमा शरीरमा अक्सिजनको मात्रा कम भएरै सङ्क्रमितको मृत्यु हुने गर्छ । फोक्सो अस्वस्थ भएको बेलामा अन्य व्याक्टेरियाको आक्रमणले गर्दा पनि निमोनिया हुन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमणमा र निमोनियामा सामान्य देखिने लक्षण भनेकै छाती दुख्ने, छाती भारी हुने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने हुन्छ । यी सङ्केतलाई नै हेर्न महत्त्वपूर्ण हुन्छ । कोरोनाको संक्रमण भएर होम आइसोलेशनमा बसेकालाई अक्सिजनको मात्रा नाप्न सल्लाह दिइने गरेको छ ।

अहिले होम आइसोलेशनमा बसेका अधिकांश सङ्क्रमितलाई अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटर प्रयोग गर्न सुझाव दिरहेका छौँ । घरमै बस्दा लगातार, ज्वरो देखियो, छाती दुख्ने तथा सास फेर्न गाह्रो हुने देखिएमा उपकरणले अक्सिजन मात्रा जाँच गर्नुपर्छ र मात्रा कम देखियो भने अस्पताल जानुपर्छ,’ उनले भने ।

यो अवस्थामा अक्सिजन नाप्दा ९६ प्रतिशत वा सोभन्दा कम भए तुरुन्त अस्पताल जाने वा डाक्टरको परामर्श लिन जरुरी हुन्छ । यसले बिरामीलाई गम्भीर अवस्थामा जान रोक्छ । यस्तो बेलामा बिरामीलाई तुरुन्त अक्सिजन दिनुपर्ने हुन्छ नभए कडा किसिमको निमोनिया विकास भइसक्ने डर रहन्छ ।

लक्षण बढ्दै गएका अन्य व्याक्टेरियल सङ्क्रमण हुन सक्ने सम्भावना पनि बढेर जान्छ । अक्सिजनको मात्रा कम भएर बिरामीको मृत्युसमेत हुनसक्छ ।