Rumpum Advertisement

नेयमारलाई पेरेडेसको साथ : पिएसजी मेस्सीलाई स्वागत गर्न आतुर छ

Neuro
नेयमारलाई पेरेडेसको साथ : पिएसजी मेस्सीलाई स्वागत गर्न आतुर छ

विराटनगर/ आफ्ना पूर्वसहकर्मी लियोनल मेस्सीसँग फेरि एकपटक सँगै खेल्ने मनसाय व्यक्त गरेका पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेयमारलाई वर्तमान सहकर्मी लियन्द्रो पेरेडेसले पनि समर्थन गरेका छन् ।

राष्ट्रिय टोलीमा मेस्सीसँग एकसाथ खेल्दै आएका अर्जेन्टिनी स्टार पेरेडेसले सकहर्मी नेयमारलाई साथ दिँदै आफूहरूको चाहना पनि सोहीअनुरुप भएको बताएका हुन् ।

नेयमारले केही दिनअघि मात्र मेस्सीसँग खेल्ने चाहना रहेको बताउँदै उनी पीएसजीमा आएमा आफ्नो स्थान छोड्ने पनि उल्लेख गरेका थिए । ब्राजिलियन फरवार्ड नेयमारले मेस्सीको चाहना भएको खण्डमा उनले आफ्नो स्थानमा खेल्नसक्ने पनि बताए ।

‘मेस्सीसँग फेरि खेल्ने मेरो तीव्र चाहना हो । म उनीसँग खेल्न चाहन्छु । यदि, उनी चाहन्छन् भने म मेरो स्थानमा उनलाई खेल्न दिनेछु । पक्का पनि अर्को वर्ष हामी एकसाथ खेल्नेछौं’, उनले भने ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा क्याप नोउ छोडेर पीएसजी आएका हुन् ।

मेस्सीको छायाँमा परेर बालोन डी‘ओर जित्न नसकेको अनुभव गरेका उनी बार्सिलोनासँगको चार वर्षे बसाई अन्त्य गर्दै लिग वान क्लब हानिएका थिए ।

तर, पछिल्लो केही सिजनयता पुनः स्पेन फर्किने चर्चामा छ । यता, बार्सिलोनाका कप्तान मेस्सी पनि पीएसजीसँग जोडिएका छन् ।

यसै सिजनको अन्त्यमा क्लब छोड्ने चर्चामा रहेका मेस्सी फ्रान्सेली क्लब पीएसजी जानसक्ने चर्चा छ ।

यस्तैमा पेरेडेसले पनि नेयमारलाई समर्थन गर्दै मेस्सी पीएसजीमा आऊन् भन्ने सबैको चाहना रहेको सुनाए । ‘मेस्सी पीएसजीमा ? म यस्तै कामना गर्छु । हामी सबै चाहन्छौं कि उनी यहाँ आऊन् तर यसमा उनको निर्णय हुनेछ’, उनले भने ।

‘हामीसँग अविश्वनीय टोली छ, राम्रा खेलाडीहरू छन् । म कामना गर्छु कि लियोले आफ्ना लागि उत्कृष्ट निर्णय लिनेछन् । तर, हामी उनलाई स्वागत गर्न आतुर छौं’, उनले थपे ।