Rumpum Advertisement

मोरङबाट खैनी बनाउन प्रयोग हुने कच्चा पदार्थ र मेशिनसहित दुईजना पक्राउ

मोरङबाट खैनी बनाउन प्रयोग हुने कच्चा पदार्थ र मेशिनसहित दुईजना पक्राउ

विराटनगर/ मोरङ सुन्दरहरैँचा नगरपालिकाबाट खैनी बनाउन प्रयोग हुने कच्चा पदार्थ र मेशिनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का मुकेशकुमार अग्रवाल र भोजपुरको पौवादुम्बा गाउँपालिका–६ का ३४ वर्षीय सुरेश तामाङ रहेका छन् ।

सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित मुक्तिराज ढकालको घर भाडामा लिएर राजश्व कर छली गरी गोल्डेन टेम्पल नामको खैनी उद्योग सञ्चालन गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर दुईजनालाई पक्राउ गरेको हो ।

बिहीबार बिहान नौ बोरा सुर्ती, खैनी प्याकिङ गर्ने मेशिन, दुई बोरा चुना र १२ बोरा रेडिमेट खैनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुईमध्ये अग्रवाललाई करणीको समेत मुद्दामा अनुसन्धान थालिएको छ । उनीमाथि बेलबारीकी १७ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोप छ ।

मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार त्रिवेणी चोकमा सञ्चालित सो सूर्ती उद्योगमा गत ५ असोजमा बेलाबारीकी युवतीलाई जवरजस्तीकरणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीमा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।