समय सधैँ एकनास रहिरहँदैन । राज्यको मूलधारमा एक समय हाली–मुहाली गरेको नेपाल प्रजा परिषद्जस्तो राजनीतिक पार्टी कालान्तरमा हराएर जान्छ । परिवर्तन सृष्टिको अपरिवर्तनीय नियम हो । सोही नियमअनुसार आफूलाई अद्यावधिक र अनुकूलन गराउन नसक्ने डाइनोसरजस्तो भीमकाय जनावर मासिएर गयो । अहिले उडुस त्यसरी नै मासिएर जाने नियमित आकस्मिकताको पालोमा परेको छ ।
हामीले अङ्गीकार गर्दै आएको सिद्धान्त र व्यवहारमा पनि समयानुकूल नवीनताको खोजी भइरहन्छ । जो समीचिन हुन्छ त्यो टिक्छ, जो हुँदैन वा हुन चाहँदैन त्यो इतिहास र सम्झनाको गर्तमा सीमित हुन्छ ।
एक समय मुलुकको सबैभन्दा ठुलो पार्टी नेपाली काङ्ग्रेसले ‘जन्मदेखि मृत्युसम्म रुख हाम्रो साथी, रुखले जिते हामी जित्छौँ जित्छन् छोरा–नाति,’ भन्ने लोकप्रिय नारा दिएर बहुमत जनमत आफ्नो पोल्टामा पारेको थियो । अलिपछि माओवादीले ‘अरूलाई हेर्यौँ पटक–पटक, हामीलाई हेरौँ एकपटक’ भन्ने नारामा जनता एकोहोर्यायो ।
बीचमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नारा ‘सबैलाई शिक्षा, स्वास्थ्य र रोजगार, समानताको आधार, सुखी नेपाली, समृद्ध नेपाल,’ले जनअपेक्षा राम्रैसँग केन्द्रित गरेको थियो । सङ्घीय समाजवादी फोरमको चुनावी नारा ‘पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि र सुशासन,’ पनि निकै लोकप्रिय भयो । अहिलेको सरकार ‘सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नाराको जगमा बनेको हो ।
तर ‘सुगर–कोटेड’ (आवरणमा गुलियो) नारा र सिद्धान्त बोकेर जनअपेक्षाको नेतृत्वमा पुगेका पात्रहरूको व्यवहार भने कालान्तरमा कलबिखसरह अनुभव हुँदै छ । जनताको मनमा वर्तमान राजनीतिक नेतृत्वप्रति विद्यमान तीक्तता बढ्दै गएर वितृष्णामा रूपान्तर हुने दिन टाढा छैन जस्तो लाग्न थालेको छ । यसमा सत्तापक्ष–प्रतिपक्ष भन्ने कुरै छैन । सबै दलले प्रस्तुत गरिरहेको ‘बाँदर नाच’ मदारीको नियन्त्रणभन्दा बाहिर हुँदो छ ।
‘परिवर्तन सम्भव छ हाम्रै पालामा’ भन्ने नारा दिएर आफूलाई वैकल्पिक शक्ति ठान्नेहरूको व्यवहार पनि हिस्स बुढी हरिया दाँतभन्दा बढी छैन । सबै जोगी कानै चिरेका देखापरेपछि मुलुकमा जनअपेक्षाविपरीत राजनीतिक अन्योल र अस्थिरता बढेको छ । जनताको वास्तविक सार्वभौमसत्ता सम्पन्नता खस्केको छ । अधिनायकवादी र प्रतिगामी चलखेल बढ्दो छ । तथापि हरेकको आ–आफ्नो सीमा हुन्छ । हामीले विश्वास गरेर डाडुपुन्यु जिम्मा दिएका व्यक्तिहरू तिनै डाडु–पुन्यु तताएर हामीलाई नै डाम्न उद्यत देखिन थालेका छन् ।
तर नेतृत्व जिम्मा पाएकाहरू हामी जति पनि कुरा बुझ्दैनन् भन्ने होइन । उनीहरू ‘बादसाहको नयाँ लुगा’सहित परिदृश्यमा त्यत्तिकै देखापरेका होइनन् । उनीहरूबाट व्यक्तिगत लोभ र दम्भबाट ग्रसित स्वार्थसमूहको नाइके भएर जानाजान अनपेक्षित हर्कतहरू भइरहेको हो । हामीलाई थाहै छ, दुइटा हात्ती खुसी भएर नाचे पनि, रिसाएर झगडा गरे पनि नासिने आखिर तोरीबारी नै हो ।
यसर्थ हाम्रो सार्वभौम तोरीबारीमा मँडारिन पल्केका छोटे–बडे सबै छाडा हात्तीहरूलाई हात्तीसारमा नजरबन्द गर्नैपर्छ । नेताहरू छाडा पनि अति छाडा भए । यिनलाई लगाम लाउन जनता कसिनैपर्छ, जनदबाब बढाउनैपर्छ । हरेक तहमा परिवर्तन संस्थागत, विधिको शासन र राजनीतिक अनुशासन कायम गर्न सकारात्मक अपेक्षासहित निरन्तर विशेष अभियान नचलाई भएन ।
जनताप्रति हुनुपर्ने जबाफदेहीतामा ह्रास आएको हामीलाई किञ्चित मान्य छैन ।
नेतृत्वमा मौलाएको छानापनको ऐँजेरु हटाउन ‘राइट टु रिजेक्ट’ (अस्वीकारको अधिकार), ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार), ५१ प्रतिशत मतको प्रत्याभूति हुनेलेमात्र नेतृत्व गर्न पाउने (वास्तविक बहुमत) तथा कुनै पनि विवादित विषयमा जनमत–सङ्ग्रहबाट छिनोफानो हुने उन्नत लोकतान्त्रिक अभ्यासका लागि हाम्रो अभियान जारी रहनेछ ।
हामीलाई थाहा छ, अपेक्षित उपलब्धि प्राप्त हुन केही समय लाग्छ । तर जति समय लागे पनि यथास्थितिमा सकारात्मक परिवर्तनका लागि लेखेर, बोलेर हाम्रो क्षमताले जति भ्याउँछ, त्यो हामी गर्छौँ । हाम्रो होस्टेमा तपाईको हैँसे चाहिन्छ ।
परिवर्तन हुन्छ, हुनैपर्छ !
Ramro. Congratulations