Rumpum Advertisement

कोरोना सङ्क्रमित नर्स ‘युद्ध’ जितेर पुनः अग्रपङ्क्तिमा

कोरोना सङ्क्रमित नर्स ‘युद्ध’ जितेर पुनः अग्रपङ्क्तिमा

अङ्किता ताम्राकार
विराटनगर/ कोरोना महामारी फैलँदा सङ्क्रमितको उपचारका खटिएका स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित फ्रन्टलाइनरमध्ये एक हुन्, विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसियू विभागकी नर्स अञ्जना उप्रेती ।

उनी अस्पातलले सञ्चालनमा ल्याएको कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिएकी थिइन् । सङ्क्रमितको उपचारमा खटिँदा उनी सङ्क्रमित भइन् ।

‘फ्रन्टलाइनमा काम गर्नु पर्नेहुँदा सङ्क्रमणको जोखिम त हुन्छ नै । सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमण भयो,’ उनले भनिन्, ‘सङ्क्रमणपछिको निकै गाह्रो भयो ।’

कोभिड सङ्क्रमितको उपचारमा खटिँदा र सङ्क्रमित हुँदाको अनुभव उनकै शब्दमा

कोभिड वार्डमा ड्युटी गर्नुअघिसमेत आइसियूमा रहँदा सङ्क्रमणबाट बच्न र सावधानीका लागि प्रोपर पिपिई, मास्क, पञ्जा सबै प्रयोग गरिरहेको थिए । सङ्क्रमणको जोखिम त थियो नै तर, सम्भावित सङ्क्रमितको नजिक रहेर काम गर्दा डर निकै कम हुँदैगएको थियो ।

आफूमा भएको आत्मविश्वासका कारण १ असोजबाट कोभिड वार्डमा ड्युटी सुरु गरेकी थिएँ । ड्युटीमा हुँदा खाना र बस्ने व्यवस्था सबै अस्पतालले नै मिलाइदिएको थियो । कोभिड अस्पतालमा ड्युटी गर्नु एकदम गाह्रो हुनेरहेछ । कोभिड सङ्क्रमितको उपचारमा खटिनु मेरो लागि सोचेको भन्दा धेरै चुनौतीपूर्ण रह्यो ।

सरकारले कोभिडको उपचार निःशुल्क गरेकाले त्यसबेला सङ्क्रमितको सङ्ख्या धेरै थियो । एकजना नर्समाथि पाँच जना सङ्क्रमितलाई हेर्नुपर्ने जिम्मेवारी थियो ।

एकजना नर्सले ५ जना बिरामीको भाइटल चार्ट लिने, औषधि दिने, भेन्टिलेटरको बिरामी हेर्ने, डाइपर चेन्ज गरिदिने, बिरामीलाई खाना तथा खाजा खुवाउने सबै एक्लैले गर्नुपर्ने हुन्थ्यो । कहिले अन्य स्टाफ नभएको बेलामा अक्सिजन आफैँ ल्याउने–लाने पनि काम गरेँ ।

अहिलेको सिफ्टमा ४ देखि ५ जना स्टाफ छन् । र, पहिलेकोभन्दा अहिलेको समयमा अस्पतालको स्टाफको म्यानेजमेन्ट धेरै राम्रो भएको छ । तर, मैले ड्युटी गरेको समयमा रातिको समयमा पनि स्टान्डबाईमा बस्नुपर्ने हुन्थ्यो । रातिको समयमा ड्युटी गर्दा एकदम डर अनुभव हुन्थ्यो ।

ड्युटीमा रहँदा पिपिई लगाइरहनु पर्छ । पिपिई लगाइसकेपछि गर्मी हुने तथा खान र ट्वाइलेट जान धेरै गाह्रो भयो । कामको व्यस्तताका कारण कुनै समय ड्युटीभरि बस्नसमेत पाइँदैन थियो । समस्या धेरै आए पनि यसलाई सुल्झाउँदै बिरामीको स्याहारमा कुनै कमी भने आउन दिइनँ ।

कोभिड वार्डमा ड्युटी गर्न थालेको ११औँ दिनमा शरीरमा दुखाइको अनुभव हुन थाल्यो । तर, कामको व्यस्तताको कारण शरीर थाकेको होला जस्तो लाग्यो । १४ दिनसम्म छुट्याइएको आफ्नो ड्युटीलाई पूरा गरे । तर, ड्युटी सकेको १४औँ दिनमा मेरो अवस्था थप जटिल भयो ।

ड्युटी सकेकै दिनदेखि ज्वरो, शरीरमा अत्याधिक दुखाइ, टाउको दुखाइ, झाडापखाला, घाँटीको दुखाइ, कमजोरी, थकान सबै लक्षण एकैपटक देखिन थाले । ड्युटी सकेको दोस्रो दिन अर्थात् १५ असोजमा मैले पिसिआर टेस्ट गराए । १६ असोजमा कोरोना सङ्क्रमण पुष्टि भयो ।

सङ्क्रमण पुष्टि भएपछि मलाई सुरुमा क्याबिन वार्डमा सिफ्ट गरियो । संक्रमित भएको खबर थाहा पाएपछि सुरुमा मलाई केही डर लागेजस्तो भएको थियो । तर, आत्मबल बलियो बनाएर कोरोना जितिन्छ भन्ने सुनेकी थिएँ । चाँडै निको हुन्छु भनेर आत्मबल दह्रो बनाएँ । दुई दिनसम्म सामान्य अनुभव भइरहेको थियो । त्यसपछि एकदम गाह्रो हुँदै गएको आभास हुन थाल्यो ।

क्याबिन वार्डबाट मलाई नर्सिङ स्टेशन नजिकैको कोठामा सारियो । मलाई लगातार ज्वरो तथा टाउको दुख्ने समस्या भइरहेको थियो । विभिन्न टेस्ट गरिसकेपछि ममा एन्टी-बायोटिक्स चलाउन सुरु गरियो । तर, एन्टीबायोटिक्सले पनि काम नगरेपछि कोरोनाको लागि प्रयोग हुँदै आएको रेम्डेसिभिर इन्जेक्सनको प्रयोग गरिन थालियो ।

रेम्डेसिभिर इन्जेक्सन एक भाइलको ७ देखि ८ हजार पर्ने हुन्छ । र, गम्भीर भएका बिरामीलाई मात्र दिने गरिन्छ । रेम्डेसिभिर इन्जेक्सनको प्रयोग सुरु हुन थालेपछि अवास्था अझै गम्भीर पो हुन्छ कि भन्ने डर मनमा आउन थाल्यो ।

रेम्डेसिभिर इन्जेक्सनको ६ डोज दिएपछि मात्र मलाई अलिक फ्रेस भएको जस्तो अनुभव हुन थाल्यो । म सङ्क्रमित हुँदाको औषधि, उपचार र खानाको सबै व्यवस्था अस्पतालले नै गरेको हो ।

अस्पतालमा सङ्क्रमित भएर बसेको १५ दिनपछि म सङ्क्रमणमुक्त भए । ३० असोजमा मेरो पिसिआर रिपोर्ट नेगेटिभ आएर म सामान्य भइ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएँ ।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको १४ दिनसम्म सेल्फ आइसोलेशनमा बसेर आराम गरेँ । खानपानमा ध्यान दिए । शरीर अलिक कमजोर अनुभव भएको कारण ड्युटी पनि केही समयपछि मात्र जोइन गरेँ ।

कोभिडसँगको लडाइँ जितेको एक महिना भएपनि कहिलेकाँही थकित भएको जस्तो अनुभव हुन्छ । कोभिड अस्पतालमा ड्युटी गर्दा म घर नगइ अस्पतालमै बसेको हुँदा परिवारको याद पनि एकदम धेरै आउने गर्थ्यो । सङ्क्रमणले गाह्रो बनाएर छट्पटिरहँदा मलाई मेरो पतिबाहेक कसैले पनि साथ र सहयोग गरेनन् ।

एक पटक फोन गरेर सोध्ने पनि कोही थिएनन् । यो कुराले एकदम दुःख लाग्छ । यस्तो पीडा शब्दमा उतार्न सकिँदैन । तर, मसँग काम गर्ने र पढ्ने साथीहरूले देखाएको माया र साथप्रति आभारी हुनेछु । मैले भोगेको जस्तो पीडा अरु कसैले भोग्नु नपरोस् ।

सबैभन्दा पहिला कोभिडको संक्रमण कसैलाई पनि नहोस् भन्ने मेरो चाहना छ । सङ्क्रमित भएको बेला हेला गर्नुभन्दा पनि माया र साथको आवश्कता हुन्छ भन्ने अनुभव भएको छ ।

सङ्क्रमितको उपचार गरिरहँदा कहिलेकाँही कोभिड अस्पतालमा किन ड्युटी गर्न पुगेको छु भन्ने सोच नआएको पनि हैन । तर, यो पेशामा छिर्दै जस्तोसुकै अवस्थामा पनि काम गर्नुपर्छ भन्ने बुझेरै आएको छु ।

मलाई फेरि पनि कोभिड वार्डमा काम गर्ने पहिलाको जतिको रहर भने छैन । तर, अब फेरि पनि कोभिड वार्डमा काम गर्नुपरे डर भने लाग्दैन । किनभने म आफैँ सङ्क्रमणबाट बचेर आएको हुँदा कोभिडको बिरामीलाई कस्तो हेरचाह र कसरी उपचार गर्न सकिन्छ भनेर सबै थाहा पाइसकेको छु ।

महामारीको बेलामा सबैको भरोसा स्वास्थ्यकर्मीमाथि नै रहेको हुन्छ । अहिलेको अवस्थामा स्वास्थ्यकर्मी बढी जोखिममा छन् । तर, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी नै डराएर घर बस्दा कोरोना नियन्त्रण गर्न सकिँदैन । त्यसैले प्रयास गरी आत्मबल दह्रो बनाएर सङ्क्रमितको उपचारमा खटिनुपर्छ ।

प्रतिक्रिया

  1. धैर्य र साहसका साथ कोरोनासँग मुकाविला गरेर विजयी भएकोमा बधाई छ अन्जना।

Comments are closed.