Rumpum Advertisement

कोरोनाको खोप धनी-गरिब सबैले पाउनुपर्छ : प्रधानमन्त्री ओली

कोरोनाको खोप धनी-गरिब सबैले पाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपको आविष्कारले नयाँ उत्साह जगाएको बताउँदै धनी र गरिब सबैले खोप पाउनुपर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ सम्बन्धी सङ्युक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै ओलीले विश्व मानवजातिलाई परेको सङ्कटको बेला खोपलाई नाफाको माध्यम बनाउन नहुँने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले खोपलाई सबैले खरिद गर्न सक्नेगरी सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए । उनले विश्वका आम जनताहरूलाई खोपको पहुँच पु¥याउन कोभ्याक्सले गरेको प्रतिवद्घताप्रति नेपालले उच्च सम्मान गरेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण विश्वमा प्रकृतिसँग मानिसको सम्बन्ध र विश्वका राष्ट्रहरूबीच रहेको असमानता उजागर गरिदिएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले कोरोनाको प्रकोपबाट कोही पनि अछुतो नरहेको बताउँदै महामारीका कारण विश्व एउटा सानो ढुङ्गा रहेको र हामी सबै त्यसमा सवार रहेको देखिएको बताए ।

सबै देश जस्तै नेपाल पनि कोरोनाविरुद्ध लडिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले कोरोना संक्रमण नियन्त्रण गर्न सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक साधनहरू प्रयोग गरिरहेको प्रष्ट पारे ।

महामारी नियन्त्रणका लागि सरकार स्वास्थ्य सेवाको सूदृढीकरण, जनताको जीवन रक्षा तथा दीगो स्वास्थ्य जस्ता रणनीतिका साथ अगाडि बढेको उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारका तीनै तहमा चाहिने भौतिक पूर्वाधार, मानवीय र आर्थिक स्रोतहरूको पहुँच बढाउन केन्द्रित भइरहेको बताए ।

उनले, सरकारले विपन्न तथा गरिब बिरामीहरूको निःशुल्क उपचार गरिरहेकोसमेत प्रष्ट्याए । सरकारले महामारी नियन्त्रणका लागि देशभरिमा ६८ पिसिआर प्रयोगशाला निर्माण तथा विस्तार गर्नुका साथै ९० भन्दा बढी कोभिड विशेष अस्पताल र ९ सय ५३ स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गरेको बताए ।