Rumpum Advertisement

रोनाल्डोले गोल ‘चोरेको’ विषयमा मोराटा असहमत

रोनाल्डोले गोल ‘चोरेको’ विषयमा मोराटा असहमत

विराटनगर/ इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गोल ‘चोरेको’ भनी आलोचना भइरहेका बेला सहकर्मी अल्भारो मोराटाले भने असहमति जनाएका छन् ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत डायनामो किभसँगको खेलमा रोनाल्डोमाथि गोल ‘चोरेको’ आरोपसहित आलोचना भएको थियो ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत युभेन्टसले युक्रेनी क्लब डायनामो किभमाथि ३–० गोलको जित निकालेको थियो ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन रोनाल्डोका साथै फेडेरिको चिसा र अल्भारो मोरोटोले समान एक–एक गोल गरे ।

रोनाल्डोले खेलको ५७औं मिनेटमा गोल गरेका थिए । तर, सो गोल रोनाल्डोले चोरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

चिसाले क्रस गरेको गोल मोराटाले पोस्टको दिशा दिएका थिए । तर, किभका गोलरक्षक हेरोयी बसचनसँग ठोक्किएर सो बल गोलमा परिणत हुनेबेलामा रोनाल्डोले छोएका थिए ।

यदि, रोनाल्डोले नछोएको खण्डमा पनि सो गोल नै हुने र मोराटाको नाममा सो गोल रहने भन्दै सामाजिक सञ्जालमा चर्चा थियो ।

तर, यस विषयमा सहकर्मी मोराटा भने असहम देखिएका छन् । उनले खेलपछि पत्रकारसँग कुरा गर्दै भनेका छन्, ‘म त्यो विषयमा सहमत छैन । तपाईंले उनलाई हेर्न मात्र सक्नुहुन्छ र उनीबाट सिक्न सक्नुहुन्छ । उनी जत्तिको उपलब्धी हासिल गर्न अरु खेलाडीहरूलाई गाह्रै पर्छ ।’

पोर्चुगिज स्टार रोनाल्डोले सो खेलबाटै सात सय ५० गोल पूरा गरेका छन् । युभेन्टसका लागि ७५औं गोल गरेका रोनाल्डोले त्यसअघि रियल मड्रिडमा छँदा चार सय ५० गोल गरेका थिए ।

त्यसभन्दा अघि युनाइटेडमा छँदा उनले ११८ गोल गरेका थिए । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका लागि ५ गोल गरेका उनले राष्ट्रिय टोलीका लागि भने १०२ गोल गरेका छन् ।