Rumpum Advertisement

यी हुन् पाँच पुराना नेपाली फिल्मका सिक्वेलहरू

Neuro
यी हुन् पाँच पुराना नेपाली फिल्मका सिक्वेलहरू

विराटनगर/ पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सिक्वेल बनाउने क्रम बढिरहेको छ । प्रायः सफल चलचित्रहरूको सिक्वेल बन्ने गरेको पाइएको छ, हुन त अपेक्षाकृत प्रदर्शन गर्न नसेकेका चलचित्रहरूको पनि सिक्वेल बन्ने गरेका छन् ।

यी हुन् पाँच पुराना नेपाली फिल्महरू, जसको सिक्वेल धेरै वर्षपछि बनाइँदैछ

‘आँधी तुफान’ : २०६१ सालमा बनेको फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने पक्का भएको छ । फिल्मको छायाँङ्कन भदौबाट सुरु गरिने बताइए पनि कोरोना प्रभावका कारण अझै राम्रोसँग काम सुरु हुन सकेको छैन । ‘आँधी तुफान’ मा अभिनेत्रीत्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो ।

तर सिक्वेलमा पुराना कलाकार दोहोरिने सम्भावना कम रहेको निर्माता मौनता श्रेष्ठ बताउछन् । ‘आँधी तुफान–२’ को लेखन निर्माता श्रेष्ठ आफैंले गरेका हुन् । कोरोनाको कहर केही साम्य हुनेबित्तिकै छायाँङ्कनमा जाने गरेर अहिले फिल्मको प्रि–प्रोडक्सन काम भइरहेको निर्माण टिम बताउँछन् ।

‘मेरो एउटा साथी छ’ : सन् २०१० को सफल चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । आइकोर फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्रलाई दिनेश राउतले निर्देशन र प्रज्वल शमसेर जबराले निर्माण गर्ने भएका छन् ।

त्यसो त सिक्वेलका लागि निर्देशक परिवर्तन भए पनि कलाकारको भने टुङ्गो लागिसकेको छैन । चलचित्रमा पहिलो सिरिजकै कलाकारहरू दोहारिने वा नदोहोरिने पक्का छैन । निर्माता जबराले स्क्रिप्ट तयार भएपछि निर्देशकको सोचअनुरुप पुराना कलाकार दोहोर्‍याउने वा नयाँ राख्ने भन्ने विषयमा टुङ्गोमा पुगिने जनाएका छन् ।

‘मेरो एउटा साथी छ २’ रोमान्टिक लभ स्टोरीमै आधारित कथामा निर्माण हुने जनाइएको छ । लभस्टोरी चलचित्र निर्माणमा अब्बल मानिने निर्देशक राउतले यसअघि आर्यन र नम्रतालाई जोडी बनाई ‘नोभेम्बर रेन’ र ‘क्लासिक’को निर्देशन गरेका थिए । हुन त आर्यन र नम्राता को जोडीलाई दर्शकले रुचाएका पनि छन तर ‘मेरो एउटा साथी छ २’मा दुईजनाको जोडी देख्न पाइने सम्भावना कमै छ ।

आफूले कलाकार फाइनल गरेर स्क्रिप्ट लेख्ने नभई स्क्रिप्टको मागअनुसार कलाकार छनौट गर्ने हुँदा अहिले नै यसबारेमा निर्देशकले केही बोल्न चाहेनन् ।

‘खलनायक’ : १२ वर्ष अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेल बनाउने तयारीमा छन्, निर्माता रोज राणा । सुपरहिट सिनेमा खलनायकका कथा तथा पटकथाकार मौनता श्रेष्ठले नै ‘खलनायक २’ को स्क्रिप्ट लेखेकी हुन् । भदौबाट चलचित्रको छायाँङ्कन सुरु गरिने भनिए पनि कोरोना कहरबीच फिल्म छायाँङ्कन गर्न सम्भव भएन ।

अब स्थिति सामान्य हुँदैगइरहेको छ, निर्माण टिमका अनुसार स्थिति सामान्य बन्यो भने माघबाट फिल्मको छायांकन सुरु गरिने छ । निर्माता राणाले ‘खलनायक २’ विल्कुलै नयाँ कथामा निर्माण हुने बताएका छन् ।

सिनेमालाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशन गर्नेछन् । फिल्मको खलपात्रमा निर्माता रोज राणाले आफैँ अभिनय गर्दैछन् । ‘खलनायक’ मा महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, विराज भट्ट र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको थियो ।

तर यसको सिक्वेलमा पुराना कलाकार कोही नदोहोरिने भएका छन् । निर्माण टिमका अनुसार, ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता र अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भरहेको छ । कलाकारको टुंगो लागेसँगै फिल्मको छाँयाङ्कन सुरु गरिने छ ।

‘कस्ले चोर्‍यो मेरो मन’ : लामो समयपछि निर्माता छविराज ओझा आफैँले निर्माण गरेको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’को सिक्वेल बनाउने तयारीमा लागिपरेका छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

‘कसले चोर्‍यो मेरो मन’ रेखा फिल्मसको ब्यानरमा बनेको थियो भने सिक्वेललाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्सनबाट यो चलचित्र बन्ने छैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउने बुझिएको छ । फिल्ममा पुरानै कलाकार दोहोरिने सम्भावना एकदमै काम देखिन्छ । कसले चोर्‍यो मेरो मनमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्‍यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी रहेको निर्माण टिम बताउँछन् ।

‘कहाँ छौ कहाँ’ :

२०७२ साल वैशाख महिनाको कुरा हो, जब निर्माता तथा वितरक गोविन्द शाहीले चलचित्र ‘कहाँ छौ कहाँ’को सिक्वेल बनाउने घोषणा गरे । चलचित्रको कथावस्तु तयार हुँदै गर्दाखेरी नै निर्माता शाहीले फिल्मको प्रदर्शन मिति घोषणा गरिदिएका थिए ।

आज ५ वर्ष बित्दा पनि न फिल्मको सिक्वेल बन्यो, न त फिल्मको सिक्वेल बन्ने कुरा नै चल्यो । निर्माता शाहीले पछिल्लो सम्य लभ ड्रामा फिल्म ‘लभ स्टेसन’ निर्माण गरेका थिए । गोविन्द शाही, विराज भट्ट र झरना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘कहाँ छौ कहाँ’ सुपरहिट भएको थियो ।