birat ribon

माेरङमा कोरोना सङ्क्रमित दुई पुरुषको मृत्यु

Neuro
माेरङमा कोरोना  सङ्क्रमित दुई पुरुषको  मृत्यु

विराटनगर / कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको उपचारका क्रममा मोरङका दुईवटा भिन्दाभिन्दै अस्पतालमा बिहीबार राति मृत्यु भएको छ ।

एक जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र अर्का पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

cura insider

मृत्यु भएकामध्ये ७५ वर्षीय वृद्ध र एक जना ५६ वर्षीय पुरुष छन् । ५६ वर्षीय पुरुषको ठेगाना झापाको दमक उल्लेख गरिएको भए पनि उनी मोरङ उर्लाबारीका भएको बताइएको छ । ७५ वर्षीय वृद्ध सिरहा मिर्चैयाका हुन् ।

झापाको दमक ठेगाना उल्लेख गरेर उपचारका लागि भर्ना गरिएका ५६ वर्षीय पुरुषको राति १२ बजेतिर विराटमा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । ज्वरो आउने, छात्ती दुख्नेलगायत समस्या भएपछि ती पुरुषलाई १३ मङ्सिरमा विराट नर्सिङ होम भर्ना गरिएको थियो ।

स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजिटिभ आए पनि आइसोलेसनमा भर्ना गर्न नमानी आफन्तले अस्पतालबाट निकालेर लगेको देवले बताए । स्वास्थ्यमा अचानक समस्या थपिएपछि उनलाई थप उपचारका लागि बिहीबार साँझ विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनकाे उपचारकै क्रममा मृत्यु भएको जानकारी देवले दिए ।

अस्पतालको विवरणमा मृतकको ठेगाना झापाको दमक उल्लेख गरेको भए पनि उनी मोरङको उर्लाबारी नगरपालिका–४ का पुरुष भएको बताइएको छ । ‘उपचारका क्रममा भर्ना हुँदा ठेगाना दमक टिपाइएका कारण अस्पतालको रेकर्डमा पनि त्यही उल्लेख छ,’ आइसोेलेसन प्रमुख देवले भने, ‘अहिले ठेगाना उर्लाबारी हो भन्ने आएका कारण थप बुझ्ने काम भइरहेको छ ।’

त्यस्तै सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएकाे छ । उपचारका क्रममा राति १२ बजेतिर वृद्धको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि उनलाई उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएपछि तत्काल कोभिड वार्डको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका वृद्धकाे उपचारका क्रममा मृत्यु भएकाे दाहालले बताए ।

jackson ribon