Rumpum Advertisement

चुनढुङ्गा खानीमा शक्तिशाली बम विस्फाेट, चार शङ्कास्पद वस्तु फेला

Neuro
चुनढुङ्गा खानीमा शक्तिशाली बम विस्फाेट, चार शङ्कास्पद वस्तु फेला

विराटनगर, १९ मंसिर । उदयपुरको कटारीमा रहेको शौर्य चुनढुङ्गा खानीमा अज्ञात समूहले चारवटा शक्तिशाली बम विस्फाेट गराएको छ ।

बिहीबार राति १२ः३० बजेतिर तीन-चार जनाको संख्यामा आएको समूहले विस्फाे गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार अज्ञात समूहले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चारवटा विस्फाेट गराएको हाे । विस्फाेटपछि फरार रहेकाे समूहको खोजी भइरहेको दाहालले बताए ।

विस्फाेट भएका बेला खानीमा मजदुरहरु रहेका थिए । बम विस्फाेट गर्ने योजनासहित आएको सामूहले सुरुमा मजदुरहरुलाई दुरव्यवहार र गालीगलौजसमेत गरेको पाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले बताए । उनका अनुसार मजदुरलाई गालीगौल गरेपछि लगातार चारवटा बम विस्फाेट गराएर उक्त समूह फरार भएको हुन ।

लगातार विस्फाेट हुन थालेपछि मजदुरहरुबीच भागदौड मच्चिएको थियो । घटनापछि आत्तिएर भागदौड गर्ने क्रममा चुनढुङ्गा खानीमा कार्यरत चार जना मजदुर घाइते भएका छन् । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । विस्फाेटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको डीएसपी कार्कीले बताए ।

घटनास्थलमा कटारीबाट नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा पुगेको टोलीले घटनाको अनुसन्धान थालेको छ । सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा पुगिसकेको छ । नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थललाई अहिले सुुरक्षित राखेर वरपर मानिसलाई आवजावत गर्न रोक लगाएको छ ।

कार्कीका अनुसार घटनास्थलमा चारवटा शंकास्पद वस्तु पनि फेला परेका छन् । उक्त शंकास्पद वस्तु बम हो या अरु नै केही हो भनेर छुट्याउन र डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

डीएसपी कार्कीले घटना कसले गराएको हो भन्ने यकिन हुन बाँकी रहेको र अनुसन्धानबाट खुल्ने जनाए । मजदुरहरुले दिएको हुलियाका आधारमा प्रहरीले घटनामा संलग्न समूहको खोजी तीव्र पारेको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले घटनाको अनुसन्धान प्रभावकारी ढंगले गर्न उदयपुर प्रहरीलाई निर्देशन दिएका छन् । उनले विस्फाेटको अनुसन्धान गर्न र त्यसमा संलग्नलाई पहिचान एवं पक्राउ गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरबाट विशेष टोली पनि परिचालन गरेका छन् । घटनास्थल पुगेर घटनाको अनुसन्धान गर्न र विस्फाेटमा संलग्नलाई पक्राउ गर्न उदयपुर प्रहरीलाई सहयोग गर्ने गरी डीआईजी कार्कीले विशेष टोली खटाएका हुन् ।