Rumpum Advertisement

लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा नेपाल

Neuro
लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा नेपाल

विराटनगर, १९ मंसिर । गाँजालाई नेपालमा कडा लागुऔषधका रुपमा लिएर किनबेच, सेवन र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

नेपालको कानुनले गाँजालाई कडा लागुऔषधका रुपमा व्याख्या गरेको छ । तर पछिल्लो समय गाँजाको कोरोबार र खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेको छ । लागुऔषधको सूचीबाट हटाएर गाँजालाई वैधानिकता दिनुपर्ने विषयमा संसदमा पनि बहस भइरहेको छ । यसलाई औषधिजन्य व्यापारका लागि अनुमति दिनुपर्ने विषयमा बहस भइरहेको छ ।

गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको यहि मेसोमा नेपाल गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा उभिएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको हो ।

राष्ट्रसंघको लागुऔषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुक गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा देखिएका हुन् । उनीहरुले सोही पक्षमा मतदान गरेका छन् । नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् । तर कानुनले भने गाँजाको उत्पादन, कारोबार र सेवनमा रोक लगाएको छ ।