Rumpum Advertisement

मिलान नकआउट चरणमा

मिलान नकआउट चरणमा

विराटनगर/ इटालियन क्लब एसी मिलान यूईएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह चरणको खेलमा स्कटिस क्लब सेल्टिकमाथि ४–२ गोलको जित निकाल्दै मिलानले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

मिलानको मैदानमा भएको खेलमा सेल्टिकले सुरुआती अग्रता बनाएको थियो । सातौं मिनेटमा टोम रोजिकले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए । १४औं मिनेटमा ओड्सन इडौआर्डले गोल गर्दै सेल्टिकको अग्रता दोब्बर बनाए ।

२४औं मिनेटमा हाकन काल्हाग्लु तथा २६औं मिनेटमा सामु कास्टिलेजोले गोल गरेपछि मिलान खेलमा फर्किएको थियो ।

५०औं मिनेटमा जेन्स पिटर हगले गोल गर्दै मिलानलाई अग्रता दिलाए भने ८२औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई ४–२ गोलले जिताए ।

जितसँगै समूह ‘एच’को दोस्रो स्थानमा रहेको मिलानले पाँच खेलबाट १० अंक जोड्दै अघिल्लो चरणमा स्थान बनायो । सेल्टिक भने १ अंकका साथ चौथो स्थानमा छ ।