Rumpum Advertisement

पहिलो चरणको खोप बेलायत पुर्याइयो

पहिलो चरणको खोप बेलायत पुर्याइयो

विराटनगर, १९ मंसिर । स्वीकृति प्रदान गरेपछि कोरोना भाइरसविरुद्धको फाइजर/बायोएनटेक खोप पहिलो पटक बेलायत लगिएको छ ।

गत बुधबार बेलायतले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेपछि बेल्जियममा उत्पादन गरिएको खोपको पहिलो लट युरोटनेल हुँदै बेलायतसम्म पुर्याइएको हो । उक्त खोप विभिन्न अस्पतालका खोप केन्द्रमार्फत सर्वसाधारणसम्म लग्ने तयारी बेलायत सरकारले गरेको छ ।

स्थान नखुलाइएको भए पनि खोप केन्द्रीय हबमा राखिएको बीबीसीले जनाएको छ । बेलायतले फाइजर/बायोएनटेकको खोपको चार करोड जोड अडर गरेको छ । जुन खोपले दुई करोड बढी व्यक्तिलाई पुग्ने जनाइएको छ ।

पहिलो चरणको खोप कार्यक्रमले कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने वा मृत्यु हुनेको संख्या ९९ प्रतिशतसम्म घटाउने इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसरले बताएका छन् । प्राध्यापक जोनथन भान–तामले बीबीसीसँग प्राथमिकताको सूचिमा रहेका सबैले खोप लगाउने बताएमा यो कुरा सम्भव रहेको बताएका हुन् । खोप जतिसक्दो चाँडो वितरण गरिने पनि उल्लेख गरेका छन् ।

बेलायतले पहिलो चरणको खोपका लागि प्राथमिकता सूचीमा केयर होममा रहेका पाको उमेरका व्यक्ति तथा त्यहाँका कर्मचारी, ८० वर्ष भन्दा माथिका व्यक्ति र स्वाथ्यकर्मी तथा स्याहारमा खटिने कर्मचारीहरुलाई राखेको छ ।