Rumpum Advertisement

करोडौंको काठ सड्ने खतरा

करोडौंको काठ सड्ने खतरा

विराटनगर, १९ मंसिर । संघीय सरकारले वन क्षेत्रबाट काठ संकलन रोक्ने निर्णय गरेसँगै मोरङमा हजारौं क्यूफिट काठ जंगलमै सड्ने खतरा बढेको छ ।

धमाधम छपान र कटानको काम भइरहेका बेला जेठ १५ मा मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । सरकारले कटान रोक्नेदेखि काटेका रुख संकलन गर्ने र घाटगद्धीसम्म ल्याउनसमेत रोक्ने निर्णय गरेको थियो । पछि जेठ २३ गते उक्त निर्णय सच्याउँदै सालबाहेकका काठ संकलन गरी घाटगद्धीसम्म ल्याउन पाउने अर्को परिपत्र गरेको थिर्यो ।

तर असार १ बाट वन क्षेत्रमा प्रवेष गर्न नपाइने हुँदा वर्षात्को समयमा काठ संकलन हुन नसकेपछि जंगलमै छाडिएको छ । संकलन भएका कमसल प्रजातिका (कु काठ) बिक्रीका लागि ठेक्का आह्वान गर्दा व्यापारीले किन्न इच्छा व्यक्त नगरेको डिभिजन वन कार्यालयका प्रमुख अनिरुद्रकुमार साहले बताए । ३५ हजार क्यूफिट काठका लागि चार पटकसम्म टेण्डर आह्वान गर्दा पनि किन्ने व्यापारी नआएको उनको भनाइ छ ।

कमसल प्रजातिका काठ लामो समय राख्दा र चाँडो बिक्री नहुँदा सड्ने खतरा रहन्छ । यस वर्ष जंगलमै काठ छाडिँदा वर्षाका कारण काठको हैसियत बिग्रिएर कसैले किन्न चासो नदिँदा राज्यलाई करोडौं नोक्सानी भएको साहले बताए । उनका अनुसार सालको काठ लैजान नपाउने र कमसल प्रजातिका काठमात्रै खरिद गर्दा नाफा नहुने भएपछि व्यापारीले टेण्डरमा चासो नदिएका हुन् ।

जिल्लाका विभिन्न स्थानमा रहेका वनबाट गत वर्षको हिउँददेखि ८० हजार क्यूफिटभन्दा बढी काठ संकलन हुन सकेको छैन । कटान भएका काठ संकलन गर्ने बेला सरकारले रोकेपछि ढालिएका रुखहरु अहिलेसम्म अलपत्र परेका छन् । सालको रुख लामो समय बोक्रासहित बाहिर छाड्दा काठको हैसियत बिग्रिएर मूल्य धेरै नपाउने हुँदा अरु नोक्सानी हुने साहले बताए । हाम्रोमत दैनिकमा समाचार छ