Rumpum Advertisement

‘मसाला किङ’को निधन

‘मसाला किङ’को निधन

विराटनगर, १९ मंसिर । भारतमा ‘मसाला किङ’को पहिचान बनाएका महाशय धर्मपाल गुलाटीको ९८ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

एमडीएच मसला कम्पनीका संस्थापक रहेका उनको निधन हृदयघातका कारण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मसालाको प्याकेटमा अंकित तस्बिरका कारण सबैले ‘मसाला किङ’ उपनामले चिन्ने उनी उपचारका लागि तीन साताअघि अस्पताल भर्ना भएका थिए ।

बुवाको कारोबारसँग सम्बन्धित बनाएर उनले मसलाको नाम एमडीएच राखेका थिए । उनका बुवा ‘महाशियान दी हट्टी’को नामबाट मसालाको व्यापार गर्थे। उनलाई भारत सरकारले सन् २०१९ मा पद्म भूषणबाट सम्मानित गरेको थियो। पद्म भूषण भारत सरकारले प्रदान गर्ने दोस्रो उच्च नागरिक सम्मान हो।

गुलाटीको निधनप्रति भारतका रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गर्दै सानो व्यवसायबाट सुरु गरेर आफ्नो एक अलग पहिचान बनाएका उद्यमी गुमाउनु परेको उल्लेख गरे । त्यस्तै रेलमन्त्री पीयूष गोयल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतका नेताहरुले पनि गुलाटीको निधनमा दुःख व्यक्त गरेका छन्।

पाँच कक्षासम्म मात्रै पढे पनि उनले व्यवसायमा छुट्टै पहिचान बनाएका थिए । बुवाको सहयोगबाट उनले सुरुमा ऐनाको पसल खोले, त्यसपछि साबुन र चामलको व्यापार गरे। तर यी काममा सफलता प्राप्त नभएपछि उनले बुवाले गरिरहेको मसलाको व्यापारमा हात हाले।

आज उनको यो व्यापार भारतमा मात्रै सीमित छैन। ९३ वर्ष पुरानो यो कम्पनी आज भारतका साथै युरोप, अमेरिका, जापान, क्यानडा, साउदी अरब लगायतका देशमा व्यापार गर्छ। कम्पनीको कारोबार १ हजार ५ सय करोडभन्दा पनि बढी रहेको बताइन्छ। उनले आफ्नी आमाको नाममा दिल्लीमा चन्नन देवी अस्पताल पनि बनाएका छन्।