Rumpum Advertisement

‘कसले चोर्‍यो मेरो मन–२’ मा रेखा र आर्यन नदोहोरिने

Neuro
‘कसले चोर्‍यो मेरो मन–२’ मा रेखा र आर्यन नदोहोरिने

विराटनगर÷आजभन्दा १०–१२ बर्ष अगाडिको कुरा हो, लभस्टोरी फिल्म भन्नासाथ हरेक निर्माताको पहिलो रोजाइ आर्यन सिग्देल नै हुने गर्थे । अहिले यो कुरा गर्दा सायद एकादेशको कथा सुनाए झै लाग्न सक्छ । ‘किस्मत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘फर्केर हेर्दा’ जस्ता थुप्रै फिल्महरू अझै पनि ताजा छन् ।

समयसँगै फिल्म क्षेत्रमा थुप्रै परिवर्तन आएका छन् । अहिलेको एकदमै हिट मानिएका लभस्टोरी फिल्म र त्यो बेलाको फिल्म हेरेरै फरक छुट्याउन सकिन्छ । अहिले एकपछी अर्को पुराना हिट नेपाली फिल्मको सिक्वेल बन्ने होड चलिरहेको छ ।

यस्तैमा नेपाली फिल्ममा रेखा थापा र आर्यन सिग्देलको दबदबा रहेको समयमा बनेको फिल्म ‘कसले चोर्‍यो मेरो मन’को पनि सिक्वेल बन्ने पक्क भएको छ । आजभन्दा दस वर्षअघि बनेको सो फिल्मलाई छविराज ओझाले निर्माण गरेका थिए भने सविर श्रेष्ठले निर्देशन गरेका थिए ।

अब फिल्मको सिक्वेल बन्ने पक्क भएसँगै फिल्मको स्टार कास्टमा को–को कलाकार हुने भए भन्नेबारे चर्चा चलिरहेको छ । ‘कसले चोर्‍यो मेरो मन २’ छविराज ओझाको निर्माण अनि पुरानै निर्देशक सविर श्रेष्ठले नै निर्देशन गर्दैछन् ।

यससँगै पहिलो फिल्ममा प्रमूख अभिनय गरेका रेखा र आर्यन दोहोरिन्छन् कि ? भन्ने सबैलाई कौतुहलता भएको छ । अहिले प्रायः धेरै नेपाली सिक्वेल फिल्महरूमा पुराना कलाकारलाई छोडी अहिलेका चलेका कलाकारलाई फिल्ममा लिने क्रम बढी देखिन्छ

आर्यन र रेखाको जोडी त्योबेला जति नै हिट भए पनि जमाना परिवर्तन भइसक्यो भन्दै निर्माताहरू पुराना कलाकारलाई दोहोर्‍याउन डराउँछन् । ‘कसले चोर्‍यो मेरो मन’ रेखा फिल्मसको ब्यानरमा बनेको थियो भने सिक्वेललाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्ने छैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउने बुझिएको छ ।

अब प्रोडक्सन कम्पनी नै नयाँ हुने भएपछि, यो त सजिलै अनुमान लगाउन सकिन्छ कि अब फिल्मको सिक्वेलमा रेखा र आर्यन दोहोरिने छैनन् ।