Rumpum Advertisement

आन्दोलनको चेतावनी दिँदै संघर्ष समितिद्वारा अस्पताल समितिलाई ज्ञापनपत्र

आन्दोलनको चेतावनी दिँदै संघर्ष समितिद्वारा अस्पताल समितिलाई ज्ञापनपत्र

इनरुवा/ इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले इनरुवा अस्पताललाई आन्दोलन गर्ने चेतावनीका दिँदै २५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

अस्पतालमा लामो समयदेखि रहेको बेथितिलाई अन्त्य गर्नुपर्ने माग गर्दै संघर्ष समितिले अस्पतललाई बिहीबार ज्ञापनपत्र बुझाएको हो । जिल्ला अस्पताल भएर पनि स्वास्थ्य केन्द्रको सेवासमेत नपाएको भन्दैं पूर्ण रूपमा उपचार सेवा सहज सरल र सुलभ हुनुपर्ने मागसहितको २५ बुँदें ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दीलिपचन साहुले आफ्ना मागहरूको सुनवाइ नभए कडा आन्दोलन गर्ने र थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए ।

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट दसौं तहको हुनुपर्ने, चिकित्सकीय सेवा हुनुपर्ने, दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गर्नुपर्ने, ल्याब सेवा २४ सै घण्टा सञ्चालन हुनुपर्ने, ब्लड बैंक सुरुआत गर्नुपर्ने, ओभर ड्युटी गर्ने चिकित्सक, कर्मचारीलाई नियमानुसार भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग अघि सारेका छन् ।

संघर्ष समितिले ज्ञापनपत्र बुझाउन तीन दिनअघि समय लिएकोमा समय नदिई आलटाल गरेको र ज्ञापनपत्र बुझाउन जाँदा जिम्मेवार ब्यक्ति नभेटेपछि अस्पताल प्रशासन शाखामा संघर्ष समितिका पदाधिकारीहरूले प्रयास गरेका छन् ।

संघर्ष समितिले आफ्नो आक्रोश पोख्न प्रशासन शाखाका सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर निकालेर तालाबन्दी गर्ने प्रयास गरेकोमा दवावस्वरुप पदाधिकारी र इनरुवा नगर प्रमुख राजन मेहतासमेत माग सुनवाइ गर्न आएपछि तालाबन्दी नगरी ज्ञापनपत्र बुझाएको थियो ।

इनरुवा अस्पताल व्यवस्थापन समिति इनरुवाका सदस्यहरू रामप्रसाद मेहता र कानुन अधिकारी र अस्पताल प्रशासनका प्रमुख मेसु सन्तोष राईले संयुक्त रूपमा विज्ञप्ति बुझेका थिए । यता, इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहतालाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख मेहताले संघर्ष समितिले उठाएका माग जायज भएको हुँदा आफूले पनि साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर प्रमुख मेहताले ब्लड बैंक सञ्चालन गर्न नगरपालिकाबाट २५ लाख रुपैयाँ सहयोग गरेको बताए ।

नगरवासीको समस्यामाथि चासो राख्न आवश्यक रहेको उल्लेख गर्दै नगर प्रमुख मेहताले अस्पताल सुधार गर्न आफूले धेरै प्रयास र सहयोग गरेको हुँदा समस्यालाई समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।

अस्पताल समितिका सदस्य रामप्रसाद मेहताले अस्पतालमा धेरै चुनौती रहेको स्वीकार गर्दै अगाडि बढेको बताए । ‘समस्या अझै छ,’ उनले भने, ‘निष्पक्षरुपमा निगरानी बढाउन आवश्यक छ । संघर्ष समिति र अस्पताल समिति मिलेर संघ र प्रदेशमा दवाव सिर्जना गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने मेहताले बताए ।

अस्पताल प्रशासनका प्रमुख सन्तोष राईले अस्पतालको प्रशासनिक कुराहरूको बारेमा संघर्ष समितिलाई जानकारी गराएका थिए । राईले सकारात्मक पहल गर्न आफू पनि तत्पर रहेको बताए ।

ज्ञापनपत्र बुझ्दै राईले अस्पतालमा ५९ जनाको दरबन्दीमा २६ जनाले काम गरेको हुँदा समस्या भएको र तीनजना मेडिकल अफिसरको भरमा काम चलिरहेको जानकारी गराए ।

यस्तै उनले २५ बुँदे मागलाई सम्बोधन गर्न आफूबाट हुने सहयोग गर्न तयार रहेको बताए ।