Rumpum Advertisement

‘सिनेमा हल नखुले आन्दोलनको विकल्प छैन’

‘सिनेमा हल नखुले आन्दोलनको विकल्प छैन’

विराटनगर÷ सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन । यसका बाबजुद हल सञ्चालकहरू यो चुतौतीलाई स्वीकार्दै सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन् ।

तर, सरकार भने अझै तयार छैन । सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लर जस्ता सबैजसो क्षेत्र स्वास्थ मापदण्ड अपनाएर खोल्न अनुमति दिए पनि सिनेमा हल भने अझै बन्द छन् ।

चलचित्र विकास बोर्डसँगै फिल्म सम्बद्ध विभिन्न संघ–संस्थाहरूले लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन् । केही दिन अगाडि ६ वटा संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आगामी १५ दिनसम्म संक्रमणको अवस्था हरेर आवश्यकताअनुसार सिनेमा हल तथा अन्य बन्द रहेका व्यावसायहरू सञ्चालनमा ल्याइने बताएका छन् ।

अझै १५ दिन सिनेमा हल नखुल्ने भएपछि चलचित्रकर्मीहरू निराश र आक्रोशित भएका छन् । निर्माता तथा हल सञ्चालक प्रदीपकुमार उदयले अब आन्दोलनको विकल्प नभएको संकेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अबको विकल्प, कि आन्दोलनको तयारी गर कि त पेशा-व्यवसायबाट विस्थापित हौ ।’ सरकारले आन्दोलनको भाषा मात्र बुझ्ने उनको भनाइ छ ।