Rumpum Advertisement

अपाङ्गतामैत्री प्रदेश निर्माणमा जोड दिएका छौं : मन्त्री घिमिरे

Neuro
अपाङ्गतामैत्री प्रदेश निर्माणमा जोड दिएका छौं : मन्त्री घिमिरे

विराटनगर, १८ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गतामैत्री प्रदेश निर्माणमा जोड दिइएको बताएका छन् । २९औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै मन्त्री घिमिरेले अपाङ्गता पुनर्स्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गतामैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको बताए ।

न्त्री घिमिरेले १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुनर्स्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको बताए । उनले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्तिलगायत सम्बद्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गरे ।

प्रदेश सरकार गठन भएको तीन बर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउनुहुँदै उनले अहिले प्रदेशस्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताए ।

उनले सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार तथा पुनर्स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना, सहायता र परामर्श सेवाको सञ्चालन, प्रदेशस्तरीय अपाङ्गता समन्वय समित गठनलगायतका कार्य गरिएको बताए ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउँदै उनले भने, ‘उहाँहरूका आवश्यकता र चाहना सवै पूरा गर्न सकिएको छैन ।’