विराटनगर/ शहीद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम सुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य बिहीबारदेखि सुरु भएको छ ।
मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले शहीद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रूपमा निर्माण गर्ने बताए ।
विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उनले बताए । मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाँडै खेलकुद गतिविधि सुरु गर्न सकिने बताए ।
मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिँदै रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधासम्पन्न बनाइने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रंगशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताए ।
भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक रहेका छन् ।
गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
लकडाउनका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयाँमा सम्झौता दिएको हो ।