Rumpum Advertisement

झापामा उपमेयर सवार गाडी जलाउने प्रयास

उपमेयर भन्छिन्– आगो लगाउन खोज्दा भाग्यौँ’

झापामा उपमेयर सवार गाडी जलाउने प्रयासउपमेयर भन्छिन्– आगो लगाउन खोज्दा भाग्यौँ’

विराटनगर/ झापाको मेचिनगर नगरपालिका उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा जलाउने प्रयास भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले उप्रेती सवार मे१झ१७२ नम्बरको गाडी जलाउने प्रयास गरेको हो ।

चारआलीस्थित एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई गाडीभित्रै राखेर गाडी जलाउने प्रयास भएको उपमेयर उप्रेतीले बताइन् । ‘बीच सडकमा गाडी रोकेर उत्रन भने, म उत्रिनँ,’ उनले भनिन् ‘पानीको बोतलमा पेट्रोल ल्याएका रहेछन् । म भित्र थिएँ, पेट्रोल छर्किएर सलाई कोर्दा कोर्दै उम्किएँ ।’

पूर्व––पश्चिम राजमार्गको धाइजन र चारआलीबीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उनले बताइन् । ‘सरकारी गाडी जलाउने कार्यक्रम छ भन्दै म भित्रै भएको अवस्थामा पेट्रोल छर्किए,’ उनले भनिन्, ‘धन्न उम्किएर बाँचेँ ।’

उनले आफूलाई कसले आगजनी गर्‍यो भन्ने जानकारी नभएको बताइन् । आफू सवार गाडी मोटरसाइकल अगाडि रोकेर राखेका कारण आफूले दुईजनालाई मात्र देखेको उनले बताइन् ।

उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरूको खोजी सुरु गरेको उनले बताए । उनले घटनास्थल एकान्त ठाउँमा भएकाले अनुसन्धान सुरु गरेको बताए ।