birat ribon

कोशी अस्पताल विस्तारमा क्षयरोग निवारण संस्थाको अवरोध, अदालतको आदेशपछि काम रोकियो

Neuro
कोशी अस्पताल विस्तारमा क्षयरोग निवारण संस्थाको अवरोध, अदालतको आदेशपछि काम रोकियो

विराटनगर/ नेपाल क्षयरोग निवारण संस्था विराटनगरको कारण कोशी अस्पताल विस्तारमा अवरोध भएको छ । कोशी अस्पतालको ६ कट्ठा ८ धुर जग्गामा रहेको संस्थाले जमिन नछाडेपछि अस्पतालकाे नयाँ संरचना निर्माणकाे काममा अवरोध भएको हो ।

कोशी अस्पतालमा अण्डरग्राउण्डसहितको ५ तले नयाँ भवन निर्माणका लागि संघीय सरकारले ४४ लागतको स्टमेट गरेकाे छ । नयाँ भवन निर्माणका लागि अस्पतालले पुरानाे ओपीडी भवन भत्काएको छ । तर क्षयरोग निवारण संस्थाले प्रयाेग गर्दै आएकाे काेशी अस्पतालकाे जमिन नछाेडेका कारण संरचना निर्माणको काम राेकिएकाे कोशी अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेश भट्टराईले बताए । उनका अनुसार अस्पतालको जग्गामा बसेको संस्थाले जमिन नछाेड्दा काम अघि बढेको छैन ।

cura insider
नयाँ भवन निर्माण स्थल संस्थाले केही समय अगाडी लगाएकाे पर्खाल

नयाँ आधुनिक भवन ३ हजार वर्ग मिटरमा बन्नेछ । जसका लागि संस्थाले भोगचलन गर्दै आएको करिब डेढ कट्ठा जग्गा आवश्यक पर्छ । तर पटकपटक आग्रह गर्दा पनि संस्थाले अटेर गरेको भट्टराईले बताए ।

‘नयाँ भवन बनाउँदा संस्थाको अस्पताललाई असर गर्दैन । भाडामा लगाएको पुरानो बिल्डिङ भत्काउनुपर्छ,’ उनले भने, ‘ अस्पताल विस्तारको काममा अवरोध सिर्जना भइरहेको छ ।’

अस्पतालको नाममा रहेको जग्गा खाली नगरेका कारण समस्या भएको उनले बताए । ‘क्षयरोग निवारण संस्था चाहिन्छ । तर अहिले संस्थाभन्दा बढी आवश्यक अस्पताल छ,’ उनले भने, ‘पुरानो बिल्डिङ भत्काएर नयाँ संरचना बनाउन अवरोध गर्न मिल्दैन ।’

अदालतको आदेश तत्काल नभत्काउनु

कोशी अस्पताल र क्षयरोग निवारण संस्थाबीचको विवाद पछिल्लो समय उच्च अदालत पुगेको छ । अस्पतालले जग्गा खाली गर्न पत्र काटेपछि क्षयरोग निवारण संस्था अन्तरिम आदेश माग गर्दै उच्च अदालत विराटनगर पुगेको छ ।

अदालतलले तत्काल काम अघि नबढाउन कोशी अस्पतालका नाममा आदेश जारी गरेको छ । २६ कात्तिकमा अदालतले तत्काल काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेशपछि अस्पतालकाे काम रोकिएको छ । तर क्षयरोग निवारण संस्थाले भने कोशी अस्पतालतर्फको जग्गामा पर्खाल लगाएको अस्पताल पक्षको दाबी छ । दसैंको विदामा पर्खाल लगाएको अध्यक्ष भट्टराईले बताए ।

उनले अदालतीय प्रक्रिया पूरा भएपछि कोशी अस्पतालले संरचना भत्काएर नयाँ भवन बनाउने उनले बताए ।

यता, क्षयरोग निवारण संस्थाका अध्यक्ष राजन श्रेष्ठ अस्पतालकै काम गरिरहेको क्षयरोग निवारण संस्थाको भवन भत्काउन नमिल्ने बताउँछन् । संरचना बनाउन अस्पतालसँग अन्य जमिन पनि रहेकाले संस्थाकै जग्गा प्रयोग गर्न जरुरी नरहेको उनले बताए । अस्पतालले सात दिनभित्र जमिन खाली गर्न पत्र पठाएपछि उच्च अदालत पुगेकाे उनले जानकारी दिए ।

कस्तो बन्दैछ नयाँ भवन ?

संघीय सरकारको बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने कोशी अस्पतालको नयाँ संरचना अन्डरग्राउण्डसहित ५ तलाको हुनेछ । तीन वर्षे समयसीमा रहेको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा १४ करोड बजेट आएको छ ।

अध्यक्ष भट्टराईका अनुसार अण्डरग्राण्ड पार्किङसहित बन्ने नयाँ भवन भुइँ तल्लामा ४७ बेडको इमर्जेन्सी वार्ड हुनेछ । २० वटा जनरल बेड रहनेछ ।

त्यस्तै पहिलो तल्लामा आईसीयू, एचडीयू, आइसोलेशन र क्याबिन रुम हुनेछ । दोस्रो तलामा १२ बेडको डाइलसिससहित अन्य बेड हुनेछन् । तेस्रो तलामा मुटु, न्यूरो, सीसीयू बेडहरू हुनेछन् ।

jackson ribon

प्रतिक्रिया

  1. Yesto ramro yojana lai roknu vhaneko janta ko lagi thulo durbhagaya ko Kura ho yo yojana jasarini Pura garnu parx

Comments are closed.