Rumpum Advertisement

सात सय ५० गोल पूरा गरेपछि रोनाल्डोले यसो भने

Neuro
सात सय ५० गोल पूरा गरेपछि रोनाल्डोले यसो भने

विराटनगर/ इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सात सय ५० गोल पूरा गरेका छन् । बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत युक्रेनी क्लब डायनामो किभमाथि जित निकाल्दा एक गोल गरेका रोनाल्डोले आफ्नो करिअरको सात सय ५० गोल पूरा गरेका हुन् ।

गए राति च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलमा युभेन्टसले युक्रेनी क्लब डायनामो किभमाथि ३–० गोलको जित निकालेको थियो । युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन रोनाल्डोका साथै फेडेरिको चिसा र अल्भारो मोरोटोले समान एक–एक गोल गरे ।

रोनाल्डोले खेलको ५७औं मिनेटमा गोल गर्दै आफ्नो करिअरको सात सय ५० गोल पूरा गरे ।

युभेन्टसका लागि ७५औं गोल गरेका रोनाल्डोले त्यसअघि रियल मड्रिडमा छँदा चार सय ५० गोल गरेका थिए । त्यसभन्दा अघि युनाइटेडमा छँदा उनले ११८ गोल गरेका थिए । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका लागि ५ गोल गरेका उनले राष्ट्रिय टोलीका लागि भने १०२ गोल गरेका छन् ।

सात सय ५० गोल गरेपछि सामाजिक सञ्जालमार्फत् उनले खुशी व्यक्त गरे ।

‘७५० गोल, ७५० खुशीका क्षणहरू अनि ७५० पटक नै समर्थकको मुहारमा मुस्कान । धन्यवाद छ, सबै खेलाडी र प्रशिक्षकलाई जसले मलाई यो अविश्वनीय गोलसङ्ख्या बनाउन मद्दत गर्नुभयो,’ उनले लेखेका छन् ।

‘मेरा सबै प्रतिद्वन्द्वीहरूलाई पनि धन्यवाद जसले मलाई प्रत्येक दिन कठिनभन्दा कठिन काम गर्न प्रेरित गर्नुभयो । अबको अर्को लक्ष्य आठ सय गोल हुनेछ,’ उनले थपे ।

प्रतिक्रिया

Comments are closed.