Rumpum Advertisement

हालाण्ड जनवरीसम्म मैदानबाहिर रहने

Neuro
हालाण्ड जनवरीसम्म मैदानबाहिर रहने

विराटनगर/जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्डले जनवरीसम्म मैदानबाहिर रहनुपर्ने भएको छ । मसल्स इन्जुरीका कारण नर्वेजियन स्टार हालाण्डले एक महिना मैदानबाहिर रहनुपर्ने डर्टमुण्डका प्रशिक्षक लुसियन फाब्रेले जनाएका छन् ।

मंगलबार प्रशिक्षणका क्रममा चोट बोकेका उनले यस वर्षका लागि आराम पाएका छन् । च्याम्पियन्स लिगअन्तर्गत लाजियोसँगको खेलका लागि अभ्यास गर्दा उनले चोट बोकेका थिए ।

बुधबार राति समूह चरणको पाँचौं खेलमा डर्टमुण्डले लाजियोसँग १–१ गोलको बराबरी खेलेको थियो । आफ्नै मैदानमा बराबरी खेल्दै डर्टमुण्डले नकआउट चरणमा स्थान बनाएको थियो ।

प्रशिक्षणका क्रममा घाइते भएका हालाण्डको चोट सोचेभन्दा गम्भीर रहेको फाब्रेले बताएका छन् । ‘इयर्लिङले कम्तिमा जनवरीसम्म खेल्नेछैनन् । सायद, उनले धेरै खेलिसकेका छन् । ट्रेनिङमा उनी घाइते भएका थिए । हामीले सोचका थियौं यो त्यति खराब नहोला । तर, यो गम्भीर देखियो’, उनले भने ।

हालाण्डले यो सिजनको बुन्डेसलिगामा १० गोल गरेका छन् । उनी यसै जनवरीमा रेडबुल साल्जबर्गबाट आएका हुन् ।