Rumpum Advertisement

अर्को वर्ष मेस्सी र मैले एकसाथ खेल्नेछौं : नेयमार

Neuro
अर्को वर्ष मेस्सी र मैले एकसाथ खेल्नेछौं : नेयमार

विराटनगर, १८ मङ्सिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले पुनः एकपटक मेस्सीसँग खेल्ने आफ्नो चाहना रहेको सुनाएका छन् ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि जित निकालेपछि पत्रकारसँग कुरा गर्दै ब्राजिलियन स्टार नेयमारले यस्तो बताएका हुन् ।

गए राति भएको समूह चरणको पाँचौं खेलमा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

ओल्ड ट्राफोर्डमा पीएसजीलाई जिताउन ब्राजिलियन स्टार नेयमारले दुई गोल गरेका थिए भने मार्कुइन्होसले एक गोल गरे । युनाइटेडका मार्कुस राष्फोर्डले एक गोल गरे ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा क्याप नोउ छोडेर पीएसजी आएका हुन् ।

मेस्सीको छायाँमा परेर बालोन डी‘ओर जित्न नसकेको अनुभव गरेका उनी बार्सिलोनासँगको चार वर्षे बसाई अन्त्य गर्दै लिग वान क्लब हानिएका थिए ।

तर, पछिल्लो केही सिजनयता पुनः स्पेन फर्किने चर्चामा छ । यता, बार्सिलोनाका कप्तान मेस्सी पनि पीएसजीसँग जोडिएका छन् ।

यसै सिजनको अन्त्यमा क्लब छोड्ने चर्चमा रहेका मेस्सी फ्रान्सेली क्लब पीएसजी जानसक्ने चर्चा छ ।

यस्तैमा युनाइटेडविरुद्धको खेलपछि ‘ईएसपीएन’सँगको कुराकानीमा उनले मेस्सीसँग खेल्ने आफ्नो तीव्र चाहना रहेको सुनाए । यस्तै नेयमारले मेस्सीको चाहना भएको खण्डमा उनले आफ्नो स्थानमा खेल्नसक्ने पनि बताएका छन् ।

‘मेस्सीसँग फेरि खेल्ने मेरो तीव्र चाहना हो । म उनीसँग खेल्न चाहन्छु । यदि, उनी चाहन्छन् भने म मेरो स्थानमा उनलाई खेल्न दिनेछु । पक्का पनि अर्को वर्ष हामी एकसाथ खेल्नेछौं’, उनले भने ।