Rumpum Advertisement

विराटनगरका व्यापारीको चाहना : नाकामा सधैं कडिकडाउ

आयात निर्यात सहज, नाका बन्दले राजस्व बढ्यो

विराटनगरका व्यापारीको चाहना :  नाकामा सधैं कडिकडाउआयात निर्यात सहज, नाका बन्दले राजस्व बढ्यो

विराटनगर/सीमावर्ती क्षेत्रमा रहेको जोगबनी बजारका कारण सधैं चिन्तामा रहने विराटनगरका व्यापारी अहिले उत्साहित छन् । अन्तराष्ट्रिय सीमानाका बन्दसँगै सुधारिएको व्यापार–व्यवसायले उत्साहित बनेका हुन् । कतिपय व्यवसायीहरुले बजार खोल्दा कडा नियम लागू गराउनु पर्ने बताउन थालेका छन् ।

सीमा क्षेत्रको बजारले निकै समस्यामा परेका व्यवसायीलाई सीमानाका बन्दले निकै राम्रो भएको विराटनगरका व्यापारी केशव दाहालले बताए । ‘हामी व्यापारीका लागि त सीमा नखुलेकै राम्रो हो,’ उनले भने, ‘यसले बजारमा निकै राम्रो चहलपहल बढेको छ ।’

कोरोनाभन्दा अगाडि विराटनगरको बजारका व्यापारीहरु व्यवसाय गर्न नसकिने मानसिकतामा पुगेका थिए । बजारमा चहलपहल बढेसँगै उनीहरु उत्साहित बनेका छन् । नाका बन्दले व्यापार बढेको बताउने अनिल रौनियारले नाका खुले पनि अवैध ओसारपसार बन्द गर्नुपर्ने बताउँछन् ।

विराटनगरमा किराना, लत्ताकपडा, बिजुलीको सामानको व्यापार निकै राम्रो भएको बताउँछन् व्यवसायी मुकेश अग्रवाल । ‘नाका खोले पनि रेकर्ड नरहने गरी स–साना झोलामा आउने समान रोकिनु पर्छ,’ उनले भने, ‘हैन भने पहिला जसरी विराटनगर बजार सुक्दै गएको थियो फेरि त्यही अवस्थामा पुगेर विराटनगरको अस्थित्व नै संकटमा पर्न सक्छ ।’

घरायसी प्रयोजनको नाममा भारतीय बजारबाट सामान ल्याउँदा नेपालको ठूलो रकम बाहिरिने व्यापारी देवेन्द्र लखौटिया बताउँछन् । नेपाली रकम बाहिरिन नपाउँदा अन्य व्यवसाय फस्टाउनसमेत सहयोग पुग्ने उनको तर्क छ । नेपाली रुपैयाँ कुनै गणना नै नहुने गरी बाहिरिने क्रमलाई रोकिने गरी नाका खोल्नुपर्ने उनले बताए ।

नाका बन्दले धेरै व्यवसायलाई फाइदा पुगिरहेको अहिलेको अवस्थामा केही व्यवसाय भने मर्कामा छन् । सीमा बन्दका कारण विराटनगरको फेन्सी सामग्रीको व्यापारमा प्रभाव परेको हो ।

चस्मा व्यवसायमा पनि नाका बन्दको प्रभाव परेको व्यवसायी सरल सुवेदीले बताए । भारतमा सार्वजनिक बिदा हुने दिन आइतबार विराटनगरमा फेन्सी सामानहरुको राम्रो व्यापार हुने गरेको उनी सम्झन्छन् । यसका साथै विराटनगरका अस्पतालहरुमा उपचार गराउन आउने भारतीयहरुको संख्या पनि राम्रै हुने गरेको थियो ।

विराट व्यापार संघ विराटनगरका अध्यक्ष सुजन थापा भारतीय नाका बन्द हुँदा सीमावर्ती नेपाली बजारलाई फाइदा पुगेको बताउँछन् । सधैं सीमा पारिको बजार गुल्जार र वारि सुनसान हुने अवस्था नाका बन्दले रोकेको उनले बताए । ‘सीमा बन्द हुँदा नेपाली बजारलाई फाइदा भएको छ, राजस्व पनि बढेको छ,’ उनले भने, ‘भोलि नाका खुला गर्दा चोरीतस्करी हुने बाटो अन्त्य होस् ।’ भारतबाट अवैधरुपमा सामग्री भित्रने बताउँदै उनले सीमामा हुने चोरी निकासी र पैठारी रोक्न राज्य सचेत हुनुपर्ने बताए ।

भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारी नाकामा मानिसको आवतजावत बन्द भए पनि सामानको आयातनिर्यात सहज भएको बताउँछन् । मानिसको आवतजावत बन्द हुँदा भन्सारमा कुनै असर नगरेको उनको भनाइ छ । ‘हिजो लकडाउनमा केही समस्या देखियो, निकासी पैठारी नहुँदा राजस्व संकलनमा ह्रास आयो,’ उनले भने, ‘लकडाउन खुलेपछि आयातनिर्यात सहज छ ।’

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा मूल्य अभिवृद्धि कर र आयकर पनि बढेको छ । चालु आवको प्रथम चौमासिक अवधिमा आयकर संकलनको लक्ष्य ५७ करोड १५ लाख थियो । तर ६६ करोड ९० लाख असुली भएको छ । कार्यालयको आयकरको चालु आवको लक्ष्य दुई अर्ब ६९ करोड ५३ करोड हो ।

मूल्य अभिवृद्धि कर पनि वृद्धि भएको छ । सोही अवधिमा ५१ करोड ३९ लाख संकलनको लक्ष्य थियो । ७६ करोड चार लाख असुली भएको छ ।