Rumpum Advertisement

चलचित्रकर्मीद्वारा लोकगायक गन्धर्वलाई सहयोग

चलचित्रकर्मीद्वारा लोकगायक गन्धर्वलाई सहयोग

धरान

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले एक कार्यक्रम आयोजना गरी लोक गायक सुरेश गन्धर्वलाई नगद रकम ५८ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश नं १ मा आबद्ध चलचित्रकर्मीहरुलाई एकबद्ध बनाउने उद्देश्यले गठित संस्थाले आयोजना गरेको कार्यक्रममा धरान–८ मा स्थित लांघाली समुदायिक वनमा आश्रित ६५ जनालाई दिउँसोको खाजासमेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अरुण प्रधानले फरक प्रकारले जीवनयापन गरिरहेकाहरुको बारेमा पनि बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘हामीले त्यो जीवनबारे बुझाउनका लागि नै आज यस स्थानमा कार्यक्रम गरेका हौं ।’

आगामी दिनमा बर्थडे, एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउँदै पीडितहरुको सेवा गर्नका लागि सम्पूर्ण चलचित्रकर्मीहरुलाई आग्रह गरे । प्रधानले २०७८ वैशाखमा महासंघले आयोजना गर्न लागेको प्रदेश १ स्तरीय चलचित्र महोत्सवको बारेमा पनि जानकारी गराएका थिए ।

सोही अवसरमा एक दिनअघि परेको जन्मदिन मनाउँदै महासंघका सदस्य विजय सुब्बाले सम्पूर्ण आश्रितहरुका लागि फ्रुटी प्रायोजन गरेका थिए भने महासंघको तर्फबाट खाजा प्रायोजन गरिएको थियो ।

उक्त कार्यक्रममा डोनेसन बक्स राखी लोकगायक सुरेश गन्धर्वको उपचारका लागि आर्थिक संकलन पनि गरिएको थियो । डोनेसन बक्सबाट संकलन भएको रकम १३ हजार, दिप्लक सुब्बाका तर्फबाट २० हजार, किशोर पन्धाक र सीता तुम्बापोका तर्फबाट २० हजार, सन्तोष लिम्बू तिल्लिङका तर्फबाट पाँच हजार पाँच सय गरी जम्म ५८ हजार पाँच सय रुपैयाँ वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सुरेश गन्धर्वलाई प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा महासंघका सल्लाहकार अशोक चेम्जोङ, मायाघरकी संस्थापक उपाध्यक्ष राधिका थापा, निर्देशक समाज प्रदेश १ का अध्यक्ष रविन श्रेष्ठ, निर्माता संघ प्रदेश १ का अध्यक्ष लाकमान योन्जन, आदिवासी जनजाति चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष भीम लामा, होप धरानका अध्यक्ष निश्चल पलिखे, सिंगक फाउन्डेसनकी अध्यक्ष मीना सिंगक, धरान प्रज्ञा प्रतिष्ठानका सदस्य सुवर्ण पलिखेको उपस्थिति रहेको थियो ।