Rumpum Advertisement

भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु

भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु

विराटनगर, १८ मंसिर । उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति वन रक्षकको मृत्यु भएको छ ।

बन्दुक पडकिएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वार्षीय लेखनाथ वास्तोलको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार वास्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक हुन् । एसपी दाहालका अनुसार जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।

वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ । बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘वनको गस्तीमा निस्किएका रक्षकले भरुवा बन्दुक फेला पारेर कार्यालयमा ल्याएका रहेछन् । बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किएर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी दाहालले भने, ‘बन्दुक कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका सबै प्रक्रिया पूरा गरेपछि थप कुरा खुल्ने छ ।’

प्रहरीले बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको जनाएको छ । बन्दुक कसले छाडेको हो भन्ने बारेमा यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ । वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फ्यालेर भागेको हुनसक्ने एसपी दाहालले बताए ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले घटनाका बारेमा गम्भीर रुपले अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले गहन ढंगले घटनाको अनुसन्धान गर्दैै वास्तविकता पत्ता लगाउन पनि उदयपुर प्रहरीलाई निर्देशन दिए ।