Rumpum Advertisement

जिराउडको चार गोल, चेल्सीको शानदार जित

जिराउडको चार गोल, चेल्सीको शानदार जित

विराटनगर, १८ मङ्सिर । फ्रान्सेली स्टार ओलिभर जिराउड एक्लैले चार गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले शानदार जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको पाँचौं खेलमा चेल्सीले सेभिल्लामाथि ४–० गोलान्तरको शानदार जित निकालेको हो ।

सेभिल्लाको मैदानमा खेलको आठौं मिनेटमा जिराउडले गोल गरेपछि चेल्सीले अग्रता बनाउन थालेको थियो ।

खेलको ५४औं मिनेटमा दोस्रो गोल गर्दै जिराउडले चेल्सीको अग्रता दोब्बर बनाए । ७४औं मिनेटमा गोल गर्दै जिराउडले ह्याट्रिक पूरा गरे भने ८३औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल थपे । र, टोलीलाई ४–० गोलको जित दिलाए ।

जितसँगै चेल्सी समूह ‘ई’बाट समूह विजेताको रूपमा नकआउट चरण प्रवेश गर्ने पक्का बन्यो । चेल्सीले पाँच खेलबाट १३ अंक जोडेको छ । ऊ समूह ‘ई’को शीर्ष स्थानमा छ ।

सेभिल्ला भने यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । सेभिल्ला १० अंकसहित दोस्रो स्थानमा छ ।

सोही समूहको क्रान्स्नोडरले रेन्नेसमाथि १–० गोलको जित निकाल्यो । क्रान्स्नोडर ४ अंकसहित तेस्रो स्थानमा छ भने रेन्नेस १ अंकका साथ पुछारमा छ ।