Rumpum Advertisement

मेस्सीविनाको खेलमा बार्सिलोनाको सहज जित

Neuro
मेस्सीविनाको खेलमा बार्सिलोनाको सहज जित

विराटनगर, १८ मङ्सिर । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति समूह चरणको पाँचौं खेल खेलेको बार्सिलोनाले हंगेरियन क्लब फेरेन्सभारोमाथि ३–० गोलको जित निकालेको हो ।

फेरेन्सभारोसको मैदानमा बार्सिलोनालाई जिताउन एन्टोइन ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओसमान डेम्बेलेले समान एक–एक गोल गरे ।

खेलको १४औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । २०औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

२८औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए ।

यस खेलमा बार्सिलोनाले कप्तान लियोनल मेस्सी, मार्क–आन्द्रे स्टगेन र फिलिप कौटिन्होलाई खेलाएको थिएन । प्रमुख प्रशिक्षक रोनाल्ड कोइम्यानले तीनैजना प्रमुख खेलाडीलाई आराम दिएका थिए ।

अघिल्लो चरणको डाइनामो किभविरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो ।

युभेन्टससँगको खेलका लागि पनि कोइम्यानले तीन खेलाडीलाई आराम दिएको हुनसक्ने आँकलन गरिएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदैछ ।

पछिल्लो भेटमा बार्सिलोनाले फेरेन्सभारोसमाथि क्याप नोउमा ५–१ गोलान्तरको जित निकालेको थियो ।

जितसँगै समूह ‘जी’को बार्सिलोनाले लगातार पाँचौं जित निकालेको छ । शीर्ष स्थानमा रहेको उसले १५ अंक जोडेको छ ।

पराजित फेरेन्सभारोस भने एक अंकका साथ पुछारमा छ ।