Rumpum Advertisement

नेयमार चम्किँदा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा हरायो

Neuro
नेयमार चम्किँदा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा हरायो

विराटनगर, १८ मङ्सिर । युरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजसी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

बुधबार राति भएको समूह चरणको पाँचौं खेलमा पीएसजीले युनाइटेडलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

ओल्ड ट्राफोर्डमा पीएसजीलाई जिताउन ब्राजिलियन स्टार नेयमारको उत्कृष्ट भूमिका रह्यो । उनले दुई गोल गरे भने मार्कुइन्होसले एक गोल गरे । युनाइटेडका मार्कुस राष्फोर्डले एक गोल गरे ।

खेलको छैटौं मिनेटमा नेयमारले गोल गरेपछि पीएसजीले सुरुआती अग्रता बनाएको थियो । ३२औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए ।

खेलको ६९औं मिनेटमा मार्कुइन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।

७०औं मिनेटमा घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । फ्रेडले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए ।

खेलको इन्ज्युरी समयमा नेयमारले थप एक गोल गरेपछि पीएसजीले ३–१ गोलको जित दर्ता गरेको हो ।

जितसँगै पीएसजीले युनाइटेडसँग हारको बदला लिएको छ । अघिल्लो भेटमा पीएसजीलाई युनाइटेडले उसैको घरमा २–१ गोलले हराएको थियो ।

यसैगरी पीएसजीले समूह ‘एच’को शीर्ष स्थान कब्जा गरेको छ । पीएसजीले पाँच खेलबाट ९ अंक बनाएको छ । युनाइटेडसँग बराबरी अंक भए पनि ऊ गोलान्तरको आधारमा अगाडि छ ।

सोही समूहको अर्को खेलमा आरबी लेइपिजले स्तानबुल बसाखसेरमाथि ४–३ गोलको जित निकालेको छ । लेइपिज ९ अंकसहित तेस्रो स्थानमा छ भने ३ अंक भएको बसाखसेर पुछारमा छ ।

अघिल्लो भेटमा पनि लेइपिजले बसाखसेरमाथि २–० गोलको जित निकालेको थियो ।