Rumpum Advertisement

आईसीपीसम्म चार लेनको सडक बन्ने

आईसीपीसम्म चार लेनको सडक बन्ने

विराटनगर, १८ मंसिर । विराटनगरको बुधनगर भेडियारीमा रहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सँग जोडिने धरान–विराटनगर मुख्य राजमार्गसम्मको सडकलाई चार लेनको बनाइने भएको छ ।

रानीबाट भन्सार आईसीपी परिसरमा सरेसँगै दुई लेनको साढे चार किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने भएको हो । विश्व बैंकको सहयोगमा लिंक रोडलाई विस्तार गर्न लागिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष पराजुलीले जानकारी दिए । आईसीपीदेखि धरान रोडसम्मको कनेक्टिङ रोड साँघुरो भएपछि चार लेनको बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।

निर्देशक पराजुलीका अनुसार सडकलाई चार लेनको बनाउन नेपाल सरकारले विश्व बैङ्कसित पत्राचार गरिसकेको छ र विश्व बैङ्कले पनि स्वीकृति जनाइसकेको छ । त्यस्तै आईसीपीमा भएको पार्किङ यार्ड पनि विश्व बैङ्ककै सहयोगमा विस्तार गरिने निर्देशक पराजुलीले बताए ।

आईसीपीमा हाल ७८ वटा मालवाहक सवारी साधन अट्ने पार्किङ यार्ड छ । त्यहाँ कम्तीमा २ सय मिटर लम्बाइको पार्किङ यार्ड चाहिएको सरोकारवालाहरू बताउँछन् । आईसीपी परिषरभित्रै मालवाहक सवारीका चालक र सहचालकले खाना पकाएर खाने ठाउँको निर्माण गरिएको भए पनि पार्किङ यार्ड नबन्दा खुला आकाशमुनि सडकमा ट्रक र कन्टेनर पार्किङ गरिँदै आएको छ ।

उनले भने, ‘हालको आईसीपीदेखि पुरानो भन्सारसम्मको ५ किलोमिटर क्षेत्रलाई नै नेपाल सरकारले भन्सार क्षेत्र भनेर घोषणा गरेको छ । त्यसैले पुरानो भन्सार कार्यालको परिसरभित्र रहेका संरचनाको उपयोग गर्न कुनै पनि कानुनी छेकबार छैन । यहाँका गोदाम र ओपन सेडलाई प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ ।’

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले आईसीपी परिसरमा ३ हजार र ५ हजार वर्ग मिटरका दुई वटा ठूला गोदामको पनि आवश्यकता भएको उल्लेख गरे । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका नरेन्द्र मोदीले गत वर्षको माघ ७ गते संयुक्त रूपमा डिजिटल प्रविधिबाट विराटनगरको आईसीपीको उद्घाटन गरेका थिए । हाम्रोमत दैनिकमा समाचार छ