Rumpum Advertisement

शवको पर्खाइमा परिवार

Neuro
शवको पर्खाइमा परिवार

इनरुवा, १७ मङ्सिर । सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहाका एक युवाको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको छ । मृत्यु भएको एक साता बितिसक्दा पनि शव नेपाल आइनपुग्दा मृतकको परिवारका सदस्यहरू चिन्तामा परेका छन् ।

इनरुवा नगरपालिका–८ का ३७ वर्षीय रामप्रसाद यादव १८ महिनाअघि मलेसियामा काम गर्न गएका थिए तर काम गर्नेक्रममा उनको मृत्यु भएपछि यादवको शवलाई नेपाल नपठाएको मृतकको भतिजा न्यूटन यादवले बताए ।

शव कहिले आउँछ भन्ने पर्खाइमा उनको आफन्तहरू रहेका छन् । शव ल्याउनका लागि आफन्तहरूले पहल गरिरहेका छन् । उनीहरूले शव ल्याउन पहल गर्नका लागि आप्रावासन सूचना केन्द्र सुनसरीमा जानकारी गराएका छन् ।

यादवको शव ल्याउन पहल गरिदिनका लागि सम्बन्धित निकायहरूमा समन्वय गरेको सामी परियोजनाले जनाएको छ । आप्रावासन सूचना केन्द्र सुनसरीका परामर्शकर्ता प्रमोद मेहताले यादवको शव ल्याउनका लागि कागजी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाएको र शव ल्याउनका लागि पहल गरिरहेको बताए ।

नेपाल सरकारले पनि यादवको शव ल्याउन पहल तथा समन्वयकारी भूमिका खेलिदिनका लागि उनका आफन्तहरूले अनुरोध गरेका छन् । मलेसियाको सेरी कोलेक सेक्युरिटी नामक कम्पनीमा कार्यरत रहेका यादवको पासपोर्ट नम्बर १११५६४२३ रहेको र उनको मृत्यु भएको एक हप्ता बितिसक्दा पनि शव नआउँदा उनका आफन्तहरू शवको पर्खाइमा बसिरहेका छन् ।

यादव मलेसियामा सेक्युरिटी गार्डको काम गरिरहेका थिए । काम गर्ने सिलसिलामा उनको मृत्यु भए पनि यादवको शव नेपाल पठाउन त्यहाँको कम्पनी र सरकारले कुनै वास्ता नगरेको मृतकको परिवारले गुनासो गरेका छन् ।

मृत्यु भएको एक हप्ताभन्दा बढी बितिसके पनि शव नआएकाले नेपाल सरकार, श्रम मन्त्रालयलगायतका विभिन्न सरोकारवालाहरूले पहल तथा समन्वय गरी सहयोग गर्नुपर्ने इन्सेकका जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बताए ।