Rumpum Advertisement

म्याराडोनाको जर्सी देखाउँदा मेस्सीलाई जरिवाना

Neuro
म्याराडोनाको जर्सी देखाउँदा मेस्सीलाई जरिवाना

विराटनगर, १७ मङ्सिर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई ५४० पाउण्ड जरिवाना गरिएको छ । अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाप्रति समर्पित सेलिब्रेसनका कारण मेस्सीलाई जरिवाना गरिएको हो ।

स्पेनिस ला लिगामा ओसासुनामाथि ४–० गोल शानदार जित निकाल्दा मेस्सीले हालै निधन भएका म्यारोडोनाप्रति समर्पित सेलिब्रेसन गरेका थिए ।

आइतबार बार्सिलोनाले आफ्नै मैदानमा शानदार जित निकाल्दा मेस्सीले एक गोल गरेका थिए । गोलपछि मेस्सीले आफ्नो जर्सी फुकालेर म्याराडोनाको १० नम्बरको जर्सी देखाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए ।

मेस्सीले अर्जेन्टिनी क्लब न्युवेल्स ओल्ड ब्वाईजको जर्सी देखाउँदै म्याराडोनाप्रति सम्मान प्रकट गरे । त्यसपछि रेफ्री माटेउ लाहोजले मेस्सीलाई पहेँलो कार्ड दिएका थिए ।

अर्जेन्टिनामा म्याराडोनाले न्युवेल्स ओल्ड ब्वाइजबाट व्यवसायिक फुटबल खेलेका थिए भने मेस्सीले सोही क्लबबाट फुटबल यात्रा सुरु गरेका थिए ।

स्पेनिस फुटबल एशोसियसनको नीतिविरुद्ध आफ्नो जर्सी फुकालेको भन्दै मेस्सीलाई जरिवाना तिराइएको हो ।

वार्षिक ६० मिलियन पाउण्ड कमाइ गर्ने मेस्सीले जम्मा ५४० पाउण्ड जरिवाना तिर्नुपर्ने भएको छ ।यसैगरी बार्सिलोनाले पनि ३१६ पाउण्ड जरिवाना तिर्नुपर्ने जनाइएको छ । तथापि, उनीहरूले जरिवानाविरुद्ध अपील गर्न सक्नेछन् ।